काठमाडौं । नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । पछिल्लो दुई दशकमै पहिलो पटक नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो ।
आज सार्वजनिक आर्थिक सर्वेक्षण २०७८ मा २०७१÷०७२ को महाभूकम्पबाट सिर्जित आर्थिक क्षति भन्दा पनि यो उच्च भएको जनाइएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण २०७८ सार्वजनिक गर्दै पछिल्लो दुई दशकमै पहिलो पटक देशको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको बताउनुभयो ।
उहाँले स्वास्थ्य सङ्कटको अवस्थामा क्रमशः सुधार आउने अपेक्षासहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४ दशमलव शून्य १ प्रतिशत रहने अनुमान गरिएको भए पनि चालु आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीव्र गतिले फैलिरहेको कोभिड–१९ को दोस्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो ।
आर्थिक सर्वेक्षण २०७८ मा चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा ५ दशमलव ८ प्रतिशतले वृद्धि भइ अमेरिकी डलर ११ सय ९१ पुगेको अनुमान गरिएको छ । त्यसैगरी प्रतिव्यक्ति कुल राष्ट्रिय आयमा ५ प्रतिशतले वृद्धि भइ अमेरिकी डलर ११ सय ९६ पुगेको अनुमान गरिएको छ ।
पछिल्ला वर्षमा वस्तु तथा सेवाको औसत मूल्यस्तर वाञ्छित सीमाभित्र नै रहेको जनाइएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा तीनै तहका सरकारको एकीकृत खर्च ११ खर्ब ९१ खर्ब ६ करोड रुपैयाँ रहेको छ । एकीकृत खर्चमध्ये चालु खर्च ५६ प्रतिशत र पुँजीगत खर्च ३४ दशमलव १ प्रतिशत र वित्तीय व्यवस्था ९ दशमलव ९ प्रतिशत रहेको छ ।
त्यसैगरी सरकारको बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ८ दशमलव १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय राजस्वमा भने गएको आर्थिक वर्षको त्यही अवधिको तुलनामा ४ दशमलव ६ प्रतिशतले बढेर पाँच खर्ब एक अर्ब ९७ करोड पुगेको छ ।
मन्त्रालयले कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायका लागि २०७७ फागुनसम्म ४८ हजार आठ सय ३१ ऋणीका लागि एक खर्ब ४२ अर्ब १७ करोड पुनर्कर्जा स्वीकृत भएको जनाएको छ । कोभिड महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि तीनै तहमा गरी ३४ अर्ब ११ करोड रुपैयाँ विनियोजन भएकोमा १० अर्ब ९५ करोड रुपैयाँ खर्च हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।