काठमाडौं । काठमाण्डौ उपत्यकाका तीन जिल्लामा आजदेखि निषेधाज्ञा थप कडा बनाइएको छ । यसअघि बिहान फलफूल र तरकारी पसलसँगै खाद्यान्न पसल पनि सञ्चालन हुँदै आएकामा आजदेखि एक हप्ता खाद्यान्न र किराना पसल खोल्न नपाइने भएको छ । तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने बिहान ९ बजेसम्म खोल्न पाइने छ ।
यसअघि जारी गरिएका गाडीका पास खारेज गरिएको छ भने विकास निर्माणसँग सम्बन्धित गाडी सञ्चालनमा पनि रोक लगाइएको छ । यस्तै, बिहान बेलुकाको घुमघाम (मर्निङ र इभिनिङ वाक) मा समेत रोक लगाइएको छ ।
झण्डै एक महिनादेखि सुरु भएको निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा केही सफलता प्राप्त भएको र अबको एक हप्ता थप कडाइका साथ निषेधाज्ञा लागू गरिएको तीनवटै जिल्ला प्रशासनले जनाएका छन् । आजदेखि २० गतेसम्म एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध थप कठोर बन्ने र नमान्नेलाई जेल सजायसम्म हुने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
कोभिड सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश २०७८ कार्यान्वयन गरी रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन स्वास्थ्यका मापदण्ड उल्लङ्घन गर्नेलाई जेलसम्म हाल्ने चेतावनी दिइएको हो । गम्भीर रुपमै प्रस्तुत हुनुपर्ने देखिएकाले अबको एक हप्ता पसलसमेत सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।
यसैबीच प्रमुख जिल्ला अधिकारी पराजुलीले यो अवधिमा कसैलाई खाद्यान्न अभाव भएमा खरिदका लागि विशेष व्यवस्था मिलाइएको पनि बताउनुभएको छ । कतै खाद्यान्न वस्तुको अभाव भएर खरिद गर्नुपर्ने अत्यावश्यक भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत पालिकाहरुसँग समन्वय गरेर व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी पराजुलीले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।