काठमाडौं । कोभिड–१९ संक्रमण नियन्त्रणका लागि सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रण सूक्ष्म योजना माइक्रो कन्टेइनमेन्ट प्लानको खाका तयार पारेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सक्रिय संक्रमितको खोज, पड्ताल, तिनीहरुको परीक्षण र उचित व्यवस्थापनका लागि योजना तयार पारेको हो ।
नेपालमा कोभिड संक्रमण उच्च भएपछि मन्त्रिपरिषद्को गएको वैशाख ६ गतेको निर्णयानुसार ‘नयाँ भेरिएन्टसहितको कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८’ जारी गरेको थियो । सरकारले तयार पारेको सूक्ष्म योजना परिवार, टोल, अपार्टमेन्ट तथा आवासीय क्षेत्र, वडा तथा पालिकास्तरमा लागु गर्ने सरकारको योजना छ ।
योजनाअनुसार परिवारका कुनै एक सदस्यलाई संक्रमण देखिएमा परिवारका सबै सदस्य क्वारेन्टिनमा बस्नुपर्नेछ । लक्षण नदेखिएको हकमा फेरि पाँच दिनपछि परीक्षण गराउनुपर्नेछ । नतिजा जे देखिए पनि अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था यो योजनाले गरेको छ ।
यसरी क्वारेन्टिनमा बस्दा आवश्यक औषधि तथा खाद्यपदार्थ उपलब्ध गराउन टोल–टोलमा सहजीकरण समूह गठन गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
त्यसैगरी, सहरी टोलमा सात वा ग्रामीण टोलमा पाँचभन्दा बढी घरमा कोभिड संक्रमित भेटिए सो टोल ‘सिल’ गरिनेछ भने टोलका सबै बासिन्दा क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था योजनामा समेटिएको छ ।