चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तिन महिनाको लागि स्टक रहेको वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ ।
वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्यवस्तुहरु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताउनुभयो ।
उपभोग्य खाद्यबस्तुको आपुर्ति सहज रुपमा भइरहेको पौडेलले जानकारी दिनुभयो । महानिर्देशक पौडेलले बजारमा खाद्य पद्धार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उहाँले उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद संचय पनि आग्रह गर्नुभयो । खाद्यपद्धार्थको अभाव नहुने भएकाले आत्तिनु नपर्ने उहाँले बताउनुभयो ।
यस्तै, दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक मुल्यवृद्धि भएको खण्डमा मुल्यवृद्धि गराउने लाई कारबाही गरिने महानिर्देशक पौडेलेको भनाई छ । बजारको अवस्थाको सम्बन्धमा विभागले दैनिक रुपमा अनुगमन गरिरहेको समेत उहाँको जानकारी दिनुभयो । दैनिक उपभोग्य वस्तुहरु, मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक वस्तुहरु सहज रुपमा नाकाबाट आयात भइरहेको महानिर्देशक पौडेलेकोे भनाई छ ।
यसैबीच, उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा आपुर्तिको समस्या नभएपनि केही दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक रुपमा मुल्यवृद्धि भइरहेको बताउनुभयो । विभागले बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्ने उहाँको भनाई छ ।