काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस, भर्चुअल कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । दिवसको अवसरमा ‘सार्वजनिक सम्पतिका रुपमा सूचना’ भन्ने नारा तय गरिएको छ ।
दिवसको अवसरमा नेपाल पत्रकार महासंघले भर्चुअल माध्यमबाट कार्यक्रम गर्दैछ । केहिबेरमा भर्चुअल कार्यक्रम हुने महासंघका महासचिव रोशन पुरीले जानकारी दिनु भयो । विगतका वर्षहरुमा प्रभातफेरी, विभिन्न अन्तरक्रियात्मक कार्यक्रम हुदै आएकोमा यस वर्ष कोरोना महामारीका कारण भर्चुअलमा सिमित हुने भएको हो ।
कोरोना संक्रमणका कारण सामूहिकरूपमा भौतिक सहभागिता जनाएर कार्यक्रम गर्न सम्भव नभएपछि महासंघले भर्चुअलरूपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको जनाएको छ । अन्तरक्रियाकै क्रममा नेपालको यो वर्षको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अवस्था समेटिएको प्रतिवेदन पनि सार्वजनिक हुँदैछ ।
यसैगरी नेपालका विभन्न तहमा बन्न थालेका नौ कानूनको मस्यौदामाथिको विश्लेषणात्मक टिप्पणीसमेत सार्वजनिक गरिँदैछ । महासंघका अनुसार नेपालमा प्रेस स्वतन्त्रता माथिको प्रहारका घटनाहरू यस वर्ष ४५ छन् । ती घटनाबाट ५ सय ८४ पत्रकार र तीन सञ्चारसंस्था पीडित बनेका छन् ।
यस्तै ५ सय ८४ पत्रकारमध्ये ७७ पत्रकारहरू महिला रहेका छन् । महासङ्घको अभिलेख अनुसार यस वर्ष ६ पत्रकार गिरफ्तारीमा परेका छन भने कब्जा, अवरोधबाट चार पत्रकार पीडित भएका छन्। त्यसैगरी आक्रमणबाट ४८ र दुव्र्यवहार, धम्कीबाट १२ पत्रकार पीडित भएका छन् । ५ सय १७ पत्रकार विस्थापनमा परेका छन् ।
दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै महासंघका अध्यक्ष विपुल पोख्रेलले कोरोनाको संक्रमणकाबीच पत्रकारिता कर्मलाई निरन्तरता दिनुपर्ने चुनौति रहेको बताउनु भएको छ ।