काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका केही प्रमुख शहरमा आजदेखि निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा हाललाई बैशाखभर लागू हुनेछ । काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा एक हप्ताको लागि जारी गरे पनि सरकारले अर्को एक हप्ता थपेर १५ दिन लम्ब्याएको हो ।
निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने बताइएको छ । एम्बुलेन्स, शव वाहन, प्रेसको गाडी लगायतका अत्यावश्यक सवारी साधनहरू गुड्न पाए पनि सार्वजनिक तथा निजी यातायात भने ग्यारेजमा थन्किने छन् ।
कोरोना महामारीको दोस्रो लहरबाट बच्न गरिएको निषेधाज्ञामा यसअघिका अत्यावश्यक बाहेकका दैनिकीमा सहभागी नहुन सरकारले आग्रह गरेको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन,बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन पनि निर्वाध चल्ने छन् ।
काठमाडौंलगायत चितवन, कास्की, बुटवल, पर्सा, बाँके धनगढीलगायतका शहरमा निशेषाज्ञा लागू भएको छ । अन्य जिल्ला तथा शहरमा समेत स्थानीय प्रशासनले संक्रमण रोकथामको निम्ति विभिन्न खालका बन्देजको घोषणा गरेको छ ।
के के बन्द हुने
आदेश अनुसार आजदेखि खाद्य सामग्री औषधी तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द हुनेछन् । काठमाडौं उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिएको छ ।
अत्यावश्यक सेवा दिनेबाहेकका सार्वजनिक र निजी सवारी साधन बन्द हुनेछ ।
के के खोल्न पाइने ?
आदेश अनुसार खाद्य सामग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ । डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष विहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् ।
विवाह ब्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइने छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।
त्यस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानीका साधन पनि चल्न पाउनेछन् ।
सरकारी कार्यालयका गाडी सम्बन्धित विभागबाट अनुमति लिएर सञ्चालन हुन पाउनेछन् । विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका गाडी चलाउने पास सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले दिनेछन् ।
अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुले हवाई टिकट, पासपोर्ट, भिसा देखाएमा एयरपोर्ट जाने गाडी चलाउन पाइनेछ ।