काठमाडौं, ४ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । हिजो बसेको निगमको बैठकले पेट्रोल, डिजल र मट्टितेलको मुल्य २–२ रुपैयाँका दरले घटाएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँमा झरेको छ । यस्तै डिजल र मट्टितेल ९७ रुपैयाँ प्रतिलिटरमा झरेको छ । भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ घटाइएको निगमले जनाएको छ ।
गएको मंसिर १७ गते निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ २–२ रुपैयाँका दरले घटाएको थियो । पेट्रोलको भाउ प्रतिलिटर १ सय १२ रुपैयाँमा झरेको थियो । यस्तै डिजल र मट्टितेलको भाउ ९९ रुपैयाँ प्रतिलिटरमा झरेको थियो ।
गएराति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमबाट पेट्रोल, डिजेल तथा मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २ रुपैयाँ प्रति लिटरका दरले घटाएर समायोजन गरेको आयल निगमले जनाएको छ ।
निगमका अनुसार नयाँ मूल्य अनुसार साविकको मूल्यमा प्रति लिटर दुई रुपैयाँ घटाई समायोजन गरेपछि पेट्रोलमा प्रति लिटर १३ दशमलव ७१ रुपैयाँ नाफा, डिजेलमा प्रति लिटर ९ दशमलव ८५ रुपैयाँ नाफा हुनेछ ।
त्यस्तै खाना पकाउने ग्याँसमा प्रति सिलिण्डर २८४ दशमलव ८३ रुपैयाँ घाटा रहने जनाउँदै समग्रमा मट्टितेल र ए.टी.एफको नाफासमेत मिलाउँदा निगमलाई आउँदो १५ दिनमा झण्डै ८८ करोड २२ लाख रुपैयाँ बचत हुने निगमले जनाएको छ ।
मूल्य समायोजनपछि काठमाडौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको ११० रुपैयाँ प्रति लिटर, डिजेल र मट्टितेलको ९७ रुपैयाँ प्रति लिटर र अन्य पेट्रोलियम पर्दाथको मूल्य यथावत रहेको छ ।