काठमाडौं । काठमाण्डौ उपत्यकामा भोलिदेखि १५ दिनसम्म निषेधाज्ञा लागू हुने भएपछि घर फर्कने यात्रुको सङ्ख्या बढेको छ । काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गाबाट पछिल्लो २४ घण्टामा मात्रै ५० हजारभन्दा धेरै यात्रु बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।
पछिल्ला दुई, तीन दिनमा दुई लाखभन्दा धेरै यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका यातायात व्यवसायीले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले आज झन् धेरै चाप बढेको बताउनुभयो ।
यात्रुको सङ्ख्या बढेकाले बिहानैदेखि सडक अस्तव्यस्त बनेको छ । यात्रुले टिकट पाएका छैनन् । निषेधाज्ञा लम्बिने आशङ्कामा काठमाण्डौबाट बाहिरिनेको सङ्ख्या बढेको हो ।
घर जान आज बिहानैदेखि काठमाण्डौको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भिड लागेको छ । काठमाण्डौमा भर्चुअल माध्यमबाट पठनपाठन सुरु भएको र सरकारले निषेधाज्ञा लगाउने निर्णय गरेपछि गाउँ घर फर्किनेको सङ्ख्या बढेको हो ।
सोमवारदेखि नै उपत्यका छाड्नेहरूको सङ्ख्या बढेको र यो सङ्ख्या आज झन् थेगिनसक्नु भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । उहाँले निषेधाज्ञा लगाइहाल्ने निर्णय गरेकाले यात्रुहरूलाई सास्ती भएको गुनासो गर्नुभयो ।
यस्तै, निषेधाज्ञासँगै काठमाण्डौ उपत्यकामा बजार, पसल बन्द हुने डरले बजारमा उपभोक्ताको भिड बढेको छ । आवश्यक सामान एकै ठाउँमा पाइने भएकाले पनि उपभोक्ता एकै पटक शपिङ सेन्टरमा पुगेका छन् । यात्रु र उपभोक्ताको भिडले स्वास्थ्य मापदण्ड पालनामा चुनौती थपिएको छ ।