काठमाडौं । पर्सामा वैशाख १६ गते बिहीबारदेखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो ।
कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि यसको रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको उहाँले बताउनुभयो । उहाँका अनुसार वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई नेपाल सरकारले तोकेको मापदण्ड भित्र रही कोरोना संक्रमितको उपचार गर्ने गराउन अनुरोध गर्ने निर्णय पनि भएको छ ।
यसैगरी सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको व्यवस्थापनका लागि ठाकुरराम बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर स्थापना गर्ने र त्यसको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय बैठकले गरेको छ ।
यता जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस गरेको छ । सीसीएमसीको बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा सिफारिस गर्ने निर्णय गरेको हो ।
उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निषेधाज्ञाको सिफारिश गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताउनुभयो ।
यस्तै कैलालीमा बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो ।