काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गरेका छन् । धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गरेका हुन् ।
धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनी बालकोनीमा पुगेका थिए । त्यहाँबाट उनले काठमाडौं उपत्यकाको दृष्यावलोकन गरेका थिए । लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टिसमेत गरे । २०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए ।
बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ । यसको अग्लाइ जमिनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।
धरहराको उदघाटन गरिए पनि पुनर्निर्माणको सबै काम भने सम्पन्न भइसकेको छैन । त्यसैले अहिले नै धरहरा अवलोकन गर्न जान पाइँदैन ।धरहरामा रंगरोगनको काम सकिएको छ र हाल दुईवटा लिफ्ट जडान गरिएको छ । यद्यपि तत्काललाई एउटा मात्र लिफ्ट सन्चालन गरिएको छ। पार्किङ क्षेत्र, बगैंचालगायतको काम पनि जारी छ । २०७२ साल वैशाख १२ को भूकम्पले भत्किएर बाँकी रहेको धरहराको तल्लो भागलाई सिसाभित्र राख्ने योजना समेत प्राधिकरणका सचिव गेलालले बताए ।
गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ८ हजार बढीको मृत्यु भएको थियो भने हजारौं भौतिक संरचनामा क्षति पुगेको थियो । महारानी ललित त्रिपुरा सुन्दरीको सम्झनामा तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले विक्रम संवत् १८८२ मा धरहरा बनाउन लगाएका थिए । त्यसैले धरहरालाई भिमसेन स्तम्भ पनि भनिन्छ । १९९० सालको भूकम्पले भत्किएको धरहरा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरले पुनर्निर्माण गराएका थिए ।
२०७२ सालको भूकम्पमा पुनः भत्किएपछि सरकारले आर्थिक कोष खडा गरेर ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेको थियो । धरहरा पुर्निर्माणमा ३ करोड ४८ लाख लागत अनुमान गरिएको र कोषबाट अपुग रकम सरकारले व्यहोर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ