काठमाडौं । नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच शुक्रवार टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री एस जयशंकरबीच शुक्रवार भएको वार्तामा कोभिड–१९ को महामारीविरुद्ध लड्ने तथा त्यसलाई परास्त गर्ने निरन्तर सहयोग आदानप्रदान गर्न सहमति भएको छ ।
दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ महामारी विरुद्धको लडाइँमा थप सहयोगको अभिवृद्धि गर्नेसहित खोपको आपूर्तिबारे विचारविमर्श गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड महामारी विरुद्धको नेपालको लडाइँमा १० लाख मात्रा कोभिशिल्ड खोप उपलब्ध गराएकामा भारत सरकारप्रति हार्दिक आभार व्यक्त गरे ।
उनले कोभिडको उच्च जोखिममा परेका नेपालीलाई दोस्रो मात्रा खोप लगाउन आवश्यक पर्ने थप खोपको आपूर्तिका निम्ति सहजीकरण गर्न भारतका बाह्य मामिलामन्त्रीसँग अनुरोध गरेका मन्त्रालयले जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रत्युत्तरमा बाह्य मामिला मन्त्रीले खोप आपूर्तिसहित महामारीबाट पार पाउन नेपालको प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने आश्वासन दिए ।