काठमाण्डौ । संघीय राजधानीबाट प्रकाशित विभिन्न राष्ट्रिय दैनिकले प्रकाशन गरेको समाचारहरुमा गोरखापत्र दैनिकले ‘बाबुआमा भएकै बालबालिका बालगृहमा’ शीर्षकमा समाचार लेखेको छ ।
बाबुुआमा दुुवै नभएका र संरक्षकत्व लिने नातेदारसमेत नभएका बालबालिकालाई अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था कानुनमा छ तर बालगृहमा धेरैजसो आमाबाबु भएकै बालबालिका बस्छन् ।
आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९ मा आमाबाबु दुवै नभएका वा भएर पनि हेरचाह गर्ने शारीरिक वा मानसिक अवस्था ठीक नभएका बालबालिकाको हेरचाह सकेसम्म नजिकको नातेदारले गर्नुपर्ने र त्यो पनि नभए संरक्षकत्वविहीन बालबालिकालाई राज्यको जिम्मामा आवासीय बालगृहमा राख्न सकिने व्यवस्था गरिएको छ ।
राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुुर चन्दले अभिभावकविहीन बालबालिकालाई मात्रै अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था गरिए पनि झन्डै ७७ प्रतिशत बालबालिका आमाबाबु भएका बस्ने गरेको स्वीकार गर्नुभयो ।
उहाँले भन्नुभयो, “आमाबाबु भएर पनि बालगृहमा बस्ने बालबालिकामध्ये एकथरी गरिब परिवारका छन् भने अर्काथरी दुर्गम ठाउँका आमाबाबुले छोराछोरी सहरमा राम्रो विद्यालय पठाउने प्रलोभन भएको पाइन्छ ।”
पछिल्ला केही वर्षदेखि परिषद्ले अति आवश्यक भएका बालबालिकाले मात्र बालगृह बस्नुपर्छ भनेर कतिपय त्यस्ता बालबालिकाको पहिचान गरेर परिवारमै पुनस्र्थापना गराउने काम गर्दै आएको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो । उहाँले कोरोना महामारीमा मात्रै झन्डै चार हजार बालबालिकालाई परिवारमा पुनर्मिलन गराउने काम परिषद्बाट भएको जानकारी दिनुभयो । परिषद्का अनुसार हाल देशका ४५ जिल्लामा सञ्चालन गरिएका ४८९ वटा बालगृहमा ११ हजार ३५० बालबालिकाले आश्रय लिइरहेका छन् ।
यसैगरी आजको अन्नपूर्ण पोष्टले ‘सामाजिक सुरक्षा भत्ता बढाउँदै छु’ शीर्षकमा समाचार लेखेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाभत्ता साउनदेखि बढाउने घोषणा गरेका छन्। ‘सरकार बनाउनेबित्तिकै पहिलो बजेटमा वृद्धभत्ता किन बढाइएन रु यो किन गरिएन रु त्यो किन गरिएन भनेर धुम मच्चाइयो’, काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘गत बजेटमै बढायौं। सामाजिक सुरक्षाका प्रबन्धका क्षेत्रमा हामीले थुप्रै काम गर्यौं।’
प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा भत्ता बढाउँछु भन्दा कसैलाई आपत्ति हुन सक्ने बताए। ‘अब कसैलाई आपत्ति लाग्ला। बूढाबूढी पनि हेर्न थाल्यो, अपांग हेर्न थाल्यो। यो सरकार छिटो हटाउनुपर्यो। मान्छेहरूलाई भरैबाट यो छटपटी हुन्छ। निद्रा लाग्दैन’, ओलीले भने।
ओलीका अनुसार पूर्व–पश्चिम रेलमार्गको छिट्टै शिलान्यास गरिनेछ। बर्दिवास जयनगर रेल सेवा सञ्चालनको तयारी छ। केरुङ काठमाडौं, काठमाडौं रक्सौल जोड्ने रेलमार्ग निर्माण हुने ओलीले बताए।
उनले देशमा विकास तीव्ररूपमा भइरहेको उल्लेख गर्दै दैनिक १० किलोमिटर सडक बनिरहेको दाबी गरे। हुम्लाबाहेक सबै जिल्ला सदरमुकाममा सडक पुगिसकेको उनले सुनाए। हुम्ला सदरमुकामलाई छिट्टै सडक सञ्जालले छुने जानकारी उनले दिए। उनले प्रत्येक स्थानीय तहको केन्द्रमा पक्की सडक विस्तार गर्ने अभियान थालिएको बताए।
उनका अनुसार पाँच हजार विद्यालय पूर्वाधार विकासमा पाँच अर्ब वितरण गरिनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रको विकास तीव्र रूपमा भइरहेको उनले बताए। हुलाकी राजमार्गको पनि ९० प्रतिशत काम सकिएको उनको भनाइ थियो। उनले समृद्धि नारा मात्र नभएर सरकारको गन्तव्य भएको बताए।
यस्तै आजको कान्तिपुर दैनिकले सत्तासमीकरणबारे ठोस निर्णय दिन देउवालाई दाहालको आग्रह शीर्षकमा समाचार लेखेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तासमीकरणबारे विधा तोडेर ठोस निर्णय दिन कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सत्तासमीकरणबारे कांग्रेस र जसपाले ठोस निर्णय लिन नसक्दा नयाँ सरकार गठनबारे अन्योलता कायमै रहेका बेला अध्यक्ष दाहालले मंगलबार कांग्रेस सभापति देउवासँग स्पष्ट जवाफ दिन आग्रह गरेका हुन् ।
दाहालनिकट मानिने माओवादी केन्द्रका स्थायी कमिटीका एक सदस्यका अनुसार भेटमा देउवाले जसपासँग छलफल गरेर आफू चाँडै ठोस निष्कर्षमा पुग्ने आश्वसन दिएका छन् । एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको निर्णयमा पुनरावलोकन निवेदन दर्ता गराएलगत्तै निवासमै पुगेर दाहालले देउवासँग भेट गरेका थिए । ‘संसद् पुनस्थापना भएको पनि डेढ महिना भयो । संसद् अधिवेशन सुरु भएको पनि एक महिना हुन लाग्यो । नयाँ सरकारबारे केही प्रगति भएन । तपाईंहरुले ठोस निर्णय लिन नसक्दा अन्योलता भयो । आफै सरकारको नेतृत्व गर्ने गरी अगाडि बढ्नुस् भन्ने मेरो प्रस्ताव छ । होइन, यो प्रस्ताव मान्य छैन भने पनि एउटा निष्कर्षमा पुग्नुस् भन्ने मेरो आग्रह छ’ दाहालले देउवासँग गरेको प्रस्ताव उद्धृत गर्दै दाहाल निकट ती नेताले भने । उनका अनुसार जवाफमा देउवाले भनेका थिए, ‘म जसपासँग पनि छलफल गर्छु र चाँडै निर्णय लिन्छु ।’