काठमाण्डौ । राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाहरुले हिजो भएको थ्री नेसन्सकपमा नेपालले प्राप्त गरेको सफलताको बिषयलाई प्रमुखताका साथ प्रकाशन गरेका छन् ।
आजको कान्तिपुर दैनिकले थ्री नेसन्स कपको उपाधि नेपाललाई शीर्षकमा समाचार लेखेको छ । नेपाली फुटबल इतिहासमा सोमबार फेरि एक अर्को सफलता थपिएको छ र यसलाई धेरै पछिसम्म सम्झना गरिनेछ । नेपालले दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशलाई २–१ ले हराएर थ्री नेसन्सकप जितेको छ । नेपालका लागि सन्जोग राई र विशाल राईले पहिलो हाफमा एक–एक गोल गरे ।
नेपालले नेपाली भूमिमा जितेको यो फुटबलको दोस्रो उपाधि मात्र हो । यसअघि सन् १९८४ मा उनले काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदका पुरुषतर्फ स्वर्ण जितेको थियो र यसको ३७ वर्षपछि अर्को उपाधि जित्न सफल भएको छ । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले जितेको यो समग्रमा पाँचौं उपाधि हो ।
यस्तै, आजको अन्नपूर्ण पोष्ट दैनिकले यसै बिषयमा समाचार लेखेको छ । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो। खेलमा नेपालका लागि सन्जोग राई र विशाल राईले एकरएक गोल गरेका हुन्।
सन्जोगले खेलको १८ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। डेब्यु प्रतियोगितामै उनले गोल गर्न सफल भएका हुन्। सुनिल बलको कर्नरमा सन्जोगले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। सन्जोग फाइनल खेलमा म्यान अफ दि म्याच समेत घोषित भए।
विशालले खेलको ४२ औं मिनेटमा अर्को गोल गरे। रन्जित धिमालको पासमा सन्जोग राईले छोएको बललाई विशाल राईले गोल गर्न सफल भए।
बंगलादेशले ८१ औं मिनेटमा एक गोल फर्काएको थियो। जमल भुयाको कर्नर बलमा उनले उत्कृष्ट हेड गोल गरेका थिए।
किर्गिस्तान टोलीसँग गोलरहित बराबरी खेलेको नेपाल बंगलादेशसँग बराबरी खेल्दै फाइनल पुगेको थियो।
नेपालले सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकप तयारीका लागि त्रिदेशीय प्रतियोगिता आयोजना गरेको हो। विजेता टोली नेपालले पाँच हजार र उपविजेताले बंगलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ।
यसैगरी आजको गोरुखापत्र दैनिकले नेपाल थ्री नेशन्स कपको च्याम्पियन शीर्षकमा समाचार लेख्छ । नेपाल ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । उपाधिको लागि भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल प्रतियोगिताको उपाधि जितेको हो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ट्रफी उचाल्न सफल भयो । सन् १९९९ मा दक्षिण एशियाली फुटबल प्रतियोगितामा नेपाललाई हराएर बङ्गलादेशले ट्रफी उचालेको थियो । उक्त हारको बदला समेत नेपालले पुरा गरेको छ । प्रतियोगिताको ट्रफीसँगै नेपाल पाँच हजार अमेरिकी डलर पुरस्कारबाट पुरस्कृत भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न खेलमा नेपालका लागि सञ्जोग राई र विशाल राईले एक एक गोल गर्नुभयो । सञ्जोगले १८ औं मिनेटमा पहिलो गोल गर्दै १–० को सुरुवाती अग्रता दिलाउनुभयो । सञ्जोग अन्तर्राष्ट्रिय स्पर्धामा आफ्नो पहिलो गोल समेत पुरा गर्नुभयो । थ्री नेशन्स कप फुटबल प्रतियोगितामै सञ्जोगले डेब्यु गर्नुभएको छ । सुनिल बलको कर्नरमा सञ्जोगले डी बक्सभित्रबाट गर्नुभएको प्रहार गोलमा परिणत भयो । सञ्जोगकै गोलबाट नेपालले अन्तर्राष्ट्रिय स्पर्धामा गोलको खडेरीको समेत अन्त्य गर्न पुग्यो । लगातार आठ खेलपछि नेपालका लागि सञ्जोगले बङ्गलादेश बिरुद्ध पहिलो गोल गर्न सफल हुनुभयो । विश्वकप २०२२ फुटबल छनौट प्रतियोगितामा चाइनिज ताइपेइ बिरुद्ध नेपालले २–० ले हराए यता कुनै गोल गर्न सकेको थिएन ।
त्यसअघि, १७ औं मिनेटमा डिफेन्डर अनन्त तामाङको हेडरलाई बङ्गलादेशका अनिसुर रहमानले बचाउनुभयो । १३ औं मिनेटमा सुनिल बलको क्रसमा त्रिदेव गुरुङले नियन्त्रणमा लिन नसक्दा बङ्गलादेशका डिफेन्डरले क्लियर गरी नेपाललाई सुरुवाती अग्रता बनाउनबाट रोक्नुभयो ।
४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पार्नुभयो । रञ्जित धिमालको पासमा सञ्जोगले विशाललाई पास गर्दा उत्कृष्ट अन्त्य दिनुभयो ।
पहिलो हाफमा २–० ले पछाडि परेको बङ्गलादेश खेलको उत्तराद्र्धतिर आक्रामक खेलेको थियो ।