झापा । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर देखिएसँगै भारतसँग जोडिएको झापाका सीमा नाकामा कडाइ गर्न थालिएको छ । झापा जिल्ला प्रशासनले खुला सीमासहित पूर्वी प्रवेशद्वार काँकडभिट्टा नाकामा थप कडाइ गरेको हो ।
भारतका आठ राज्यमा कोरोना भाइरसको दोस्रो लहर देखिएको छ । भारतमा दैनिक ४० हजार बढी नयाँ कोरोना भाइरसका संक्रमित थपिने क्रम बढेसँगै झापा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सीमा नाकामा कडाइ गरेका छन् ।
काँकडभिट्टा नाका हुँदै भारत पुगेर नेपाल फर्कने र भारततर्फ जाने सर्वसाधारणको आवतजावतमा कडाइ गरिएको छ । दैनिक करिब २ हजार सर्वसाधारण आवतजावत गर्ने काँकडभिट्टा नाकामै स्वास्थ्य परीक्षणका लागि ज्वरो नाप्ने, मास्क लगाएको वा नलगाएको जाँच गर्ने लगायतको काम थालिएको छ ।
भारतमा संक्रमण बढेसँगै पूर्वी नाकाबाट दैनिक सयौं मानिस नेपाल भित्रन थालेका छन् । उनीहरूबाट संक्रमण भित्रिने खतरा रहेकाले सीमा नाकामा कडाइ गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो ।
झापाका अन्य नाका वर्ष दिनदेखि ठप्प भएपनि काँकडभिट्टा नाका केही समयअघिबाट आवतजावतलाई सहज बनाइएको थियो । भारतमा संक्रमितको संख्या वृद्धि भएसँगै पुनः काँकडभिट्टा नाकामा प्रशासनले कडाइ गरेको हो ।
सीमामा तैनाथ सुरक्षाकर्मीले नाकामा पुनः सर्वसाधारणको विवरण संकलन गर्न थालेका छन् । मास्क नलगाएर लाइनमा आएकालाई प्रहरीले नाकाबाटै फर्काउन र सम्झाउन समेत थालेका छन् ।
यसअघि कोरोना संक्रमणलाई मध्यनजर गरी काँकडभिट्टामा भारतबाट आउने सर्वसाधारणका लागि होल्डिङ सेन्टर स्थापना गरिएको थियो । तर, अहिले त्यो हटाइएको छ । स्थानीय तहले बनाएका क्वारेन्टाइन सबै बन्द छन् । जसले गर्दा भारतबाट आएका सिधैँ घर जाने भएकाले समुदायमा संक्रमण फैलने सम्भावना बढेको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन सेन्टर झापाको बैठकले सबै स्थानीय तहलाई पुनः कोभिड अस्पताल र क्वारेन्टाइनको व्यवस्थापन गर्न आग्रह गरेको छ । त्यस्तै मास्क लगाएर र सेनिटाइजर बोकेर मात्र हिँड्न प्रशासनले आम नागरिकलाई आग्रह गरिसकेको तिमिल्सिनाले बताउनुभयो ।