काठमाडौँ– फिफा विश्वकप फुटबलको युरोपियन छनौट अन्तर्गत आइतबार रातिको खेलमा पोर्चुगल र सर्वियाले बराबरी खेलेका छन् । घरेलु मैदान वियोग्राडमामा भएको खेलमा सर्वियाले पोर्चुगललाई २-२ गोलको बराबरीमा रोकेको हो । डियोग जोटाले ११औँ र ३६औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा पोर्चुगलले अंक बाढ्न बाध्य भयो ।
२-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै ४६औँ मिनेटमा एलेक्जेण्डर मित्रोभिक र ६०औँ मिनेटमा निकोला मिलेन्कोभिकले गोल गर्दै सर्वियालाई हारबाट जोगाए । बराबरीसँगै समूह ए मा सर्विया शीर्ष स्थानमा कायमै छ । समान ४ अंक भए पनि गोल अन्तरका आधारमा पोर्चुगल दोस्रो स्थानमा छ । यसअघि पहिलो खेलमा सर्वियाले आयरल्यान्डलाई ३–२ ले पराजित गर्दा पोर्चुगलले अजरवैजानलाई १–० ले पराजित गरेको थियो ।