काठमाण्डौ । आठ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड ५ वटा चिनियाँ जहाजलाई अब नेपाल वायुसेवा निगमले लिज वा बिक्री गर्न सक्ने भएको छ । ६ वर्षअघि अनुदान र सहुलियतपूर्ण ऋणमा ल्याइएका ५ वटा चिनियाँ जहाज नउडाउने निर्णय गर्ने निगमलाई अर्थ मन्त्रालयले ती जहाज भाडा वा बिक्रीमध्ये कुनै एक विकल्पमा जान नौ महिनापछि सहमति दिएको हो ।
मध्य असारमा चिनियाँ जहाज नउडाउने निर्णय गर्ने निगमलाई अर्थको सहमति महिनौं लामो सरकारी कागजी प्रक्रियापछि बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगममा पठाएको मन्त्रालयका सहसचिव तारानाथ अधिकारीले कान्तिपुरलाई बताए । ‘अर्थले चिनियाँ जहाज ग्लोबल टेन्डर गरेर लिजमा दिनु, लिज प्रक्रियाबाट टुंगो नलागे बिक्री गर्नु भन्ने सहमति दिएको छ’, प्रवक्ता समेत रहेका सहसचिव अधिकारीले भने । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
यसैगरी, आजको नयाँ पत्रिका दैनिकमा गरिब जनताले उपचार गर्ने वीर अस्पतालमा प्रतिबेड दुई सय शुल्क शीर्षकमा समाचार प्रकाशित छ । समाचारमा लेखिएको छ,
देशभरबाट गरिब बिरामी उपचार गर्न आउने वीर अस्पतालले अब प्रतिशड्ढया दुई सय रुपैयाँ लिने भएको छ । २१ फागुन ०७७ मा बसेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकोे कार्यकारी परिषद् बैठकले प्रतिरात दुई सय रुपैयाँ लिने निर्णय गरेको हो ।
यसअघि वीर अस्पतालले क्याबिन र सघन उपचार कक्षमा प्रयोग हुने बेडमा मात्रै शुल्क लिन्थ्यो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)की रजिस्ट्रार प्रमिला देवानले बिरामीलाई आर्थिक असर नपर्ने गरी शुल्क लिने निर्णय गरेको बताइन् । ‘शुल्क तिर्न सक्नेका लागि बेड चार्ज लिने निर्णय भएको हो,’ रजिस्ट्रार देवानले नयाँ पत्रिकासँग भनिन् ।
वीर अस्पतालका एक पूर्वनिर्देशक उक्त निर्णय गलत भएको बताउँछन् । उनले नयाँ पत्रिकासँग भने, ‘विगतमा हामीले सेवा दिँदा शल्यक्रियादेखि शड्ढयासम्म सबै निःशुल्क थियो । क्रमशः शुल्क तोक्दै गएर अब शड्ढयासमेत सशुल्क बनाउनु त्यहाँ आउने गरिबमाथि अन्याय हो ।’ उनी पैसा नभएर वीरमा समेत उपचार नपाउने अवस्था बन्दा गरिबसँग मर्ने मात्र विकल्प रहने बताउँछन् ।
प्रत्येक विभाग र युनिटको कुल शड्ढयाको २० प्रतिशत मात्र निःशुल्क हुनेछ । त्यो सुविधा पनि सामाजिक सेवा इकाइबाट सिफारिस भएका बिरामीले मात्रै पाउनेछन् । ‘वार्डहरूमा बसेका गरिबले तिर्न सक्दिनँ भनेको अवस्थामा पनि हामी रकम मिनाहा गर्छौँ,’ देवानले थपिन्, ‘अहिले बेडको शुल्क तिर्नैपर्ने निर्णय गरिएको छ । यो न्यूनतम हो, कुनै हाइफाई होइन ।’
यस्तै, आजको गोरखापत्र दैनिकमा सार्वजनिक स्थानमा फागु मनाउन निषेध शीर्षकमा प्रकाशित समाचारमा लेखिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका सार्वजनिक स्थानमा भीडभाड गरी फागु खेल्न निषेध गरिएको छ । कोरोना भाइरस महामारीको जोखिम बढेकाले भीडभाड गरी सार्वजनिक स्थानमा होली खेल्न निषेध गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । यो वर्ष फागु पहाड तथा उपत्यकामा चैत १५ र तराईमा १६ गते परेको छ ।
यसअघि तीनवटै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरी कोरोना सङ्क्रमण बढ्दै गएकाले होलीमा भीडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई घरपरिवारबीच मनाउन अपिल गरेको थियो ।
महानगरीय प्रहरी कार्यालय प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले जिल्ला प्रशासन कार्यालयहरूको निर्णयलाई थप सहयोग पुग्ने गरी सार्वजनिक स्थानमा होली खेल्न रोक लगाइएको जानकारी दिनुभयो ।
सडक, चोक तथा सार्वजनिक स्थानमा भीड थुपारेर होली पर्व मनाउने, पानी छ्याप्ने, लोला हान्ने र जबर्जस्ती रङ अबिर दल्ने कार्यमा रोक लगाइएको स्पष्ट पार्दै उहाँले सुरक्षित रूपमा होली खेल्न आग्रहसहित सर्वसाधारणको सचेतनाका लागि ‘माइकिङ’ गरिने बताउनुभयो । यही १५ गते होली पर्वमा सुरक्षा व्यवस्थापनका लागि करिब पाँच हजार सुरक्षाकर्मी परिचालन हुनेछन् ।
विशेष गरी होली पर्वमा ट्राफिक नियमको पालना नगर्ने, मदिरा सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा हेल्मेट प्रयोग नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने दुई पाङ्ग्रे सवारीमाथिको कारबाहीलाई सशक्त बनाइने भएको छ । यसका साथै सर्वसाधारणका लागि मास्कको प्रयोग अनिवार्य गरिएको छ ।