कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आंशिक निषेधाज्ञा जारी गरेको छ । भारतका केही राज्यहरूमा कोरोना संक्रमणको दर बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर प्रशासनले विभिन्न आदेश जारी गरेको हो।प्रशासनले गएराति १२ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि विभिन्न आदेशहरु जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा हस्ताक्षरित आदेशमा होलीलगायत कुनै मेला, पर्व, जात्राका अवसरमा महोत्सव, भीडभाड वा जुलुस गर्न नपाइने भनिएको छ । यस्तै, सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनिएको छ। गौरीफन्टा र गड्डाचौकी नाकाबाट यात्रुहरूको आवागमन र मालसामान ढुवानी बिहान ६ देखि बेलुका ८ बजेसम्म खुला रहने छ । यी बाहेकका नाका र बिन्दुबाट आवतजावत पूर्ण रूपमा बन्द हुने भएको छ । नाकामा रहेका हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराउनु पर्ने र विवरण टिपाउन आग्रह गरिएको छ ।
त्यसैगरि अत्यावश्यक बाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायातलगायतका सेवा एवं मानिसहरुको आवागमन जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरि बिहान ४ बजेदेखि राति १० बजेसम्म मात्र गर्न पाउने भनिएको छ । यसैगरि सबै व्यक्तिहरुले मास्क, सेनिटाइजर र सामाजिक दूरीको मापदण्ड कडाइका साथ पालना गर्नु पर्नेलगायतका आदेश जारी गरिएको छ । यी आदेशमा भएको व्यवस्थाको अवज्ञा गरेको पाइए संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने पनि जारी आदेशमा उल्लेख गरिएको छ ।