काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ चुनावमा होमिएको छ । केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेसँगै पत्रकारको चुनावी गतिविधिमा देखा परेका हुन् । निर्वाचन कार्यक्रमअनुसार आइतबार बेलुकी ५:१५ बजे मतदाता नामावली प्रकाशन गरिँदै छ । मतदाता नामावली उपर दाबी विरोधका लागि चैत ९ गते दिउँसो १२:३० बजेदेखि चैत १० गते दिउँसो १२:३० बजेसम्म गर्ने गरी तोकिएको महासंघले जनाएको छ ।
मतदाताको अन्तिम नामावली ११ गते दिउँसो ४ बजे प्रकाशन गरेपछि उम्मेदवारी मनोनयन १२ गते बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म रहनेछ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १२ गते साँझ ६ बजे गरिने महासंघले जनाएको छ । उम्मेद्वारमाथि दाबी विरोध चैत १३ गते बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ ।
यसैगरी उम्मेद्वारले नाम फिर्ता लिने समय चैत १४ गते दिउँसो ४ बजेसम्म रहनेछ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १४ गते साँझ ६ बजे गरिनेछ । मतदान चैत २५ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ ।
महासंघको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन् । मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइनेछ । केन्द्रीय निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका महासंघको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन समितिको कार्यालय महासंघको केन्द्रीय कार्यालयमै रहेको छ ।
यसैगरी प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसियट संस्थाको निर्वाचन कार्यक्रम सम्बन्धित इकाइकै निर्वाचन समितिले सार्वजनिक गर्ने जनाइएको छ । ती इकाइको मनोनयन दर्तालगायत प्रक्रिया पनि सम्बन्धित इकाइमै हुनेछ । देशभरबाट निर्वाचनका लागि महासंघका करिब १४ हजार साधारण सदस्य सहभागी हुनेछन् ।