मञ्जु संग्रौला अमेरिकामा रहेका नेपाली नर्सहरुको संस्था सोसाइटी अफ नेप्लीज नर्स (सान) का अध्यक्ष हुनुहुन्छ । ७ बर्ष नेपालमा र २५ बर्ष अमेरिकामा रहेर नर्सिङ पेशा रहेर स्वास्थ्य सेवामा काम गर्नुभएकी संग्रौला श्रीमान प्रेम संग्रौलासँग डिपेन्डेन्ट भएर अमेरिका जानुभएको हो । अमेरिका जानुअघि उहाँ वीरेन्द्र सैनिक अस्पतालको लेफ्टिनेन्ट हुनुहुन्थ्यो । श्रीमानले कोलम्बिया विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययन गर्न छात्रवृत्ति पाउँदा उहाँलाई पनि त्यही विश्वविद्यालयमा अध्ययन गर्ने ठूलो चाहना थियो । तर, घर परिवार व्यवस्थापन गर्नुपर्ने, त्यसका लागि काम गर्नु पर्ने भएकोले इच्छा भएर पनि त्यसबेला पढ्न पाउनु भएको थिएन । अहिले उहाँ त्यही विश्वविद्यालयमा मधुमेह एजुकेसन एण्ड म्यानेजमेन्ट विषयमा अध्ययन गरिरहनुभएको छ । विश्वव्यापी समस्यामा रुपमा रहेको यो समस्या व्यवस्थापनका लागि नेपाल जस्ता विकासोन्मुख देशमा काम गर्ने यहाँको योजना छ । अमेरिकामा नर्सिङ सेवासँगै विगत नेपाली समुदायको हितका लागि सामाजिक काम गर्नुहुन्छ । विद्यालयहरुमा भोलिन्टियर नर्स, क्राइसिस काउन्सिलर उहाँका अहिलेका कार्य क्षेत्र हुन् । पेशागत र पारिवारिक जीवनको सन्तुलन सजिलै मिल्ने कुरा होइन । यसका लागि ज्ञान, सीप, धैर्यता, सहनशीलताजस्ता गुण आवश्यक पर्छ । यी सबै गुणलाई मिलाएर संग्रौलाले आफूलाई परिवार, समाज र पेशामा उत्तिकै सक्रिय बनाउनुभएको छ । अहिले १११ औं अन्तर्राष्ट्रिय महिला दिवसका कार्यक्रम चलिरहेका छन् । ‘चुज टु च्यालेन्ज’ नारामा आधारित छ । नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ नारासहितका कार्यक्रम आयोजना भइरहेका छन् । यसै सन्दर्भमा सानकी अध्यक्ष संग्रौलासँग क्यापिटल दैनिकले गरेको कुराकानीको संक्षेप
‘चुज टु च्यालेन्ज’ अन्तरराष्ट्रिय महिला दिवसको नारा, ‘चुनौती छानौं’, यो नारालाई कसरी हेर्नुहुन्छ?
सान्दर्भिक प्रश्न गर्नु भो । सम्भावना र चुनौती आपसी सम्बन्धमा रहेका हुन्छन् । जहाँ सम्भावना हुन्छ, त्यहाँ चुनौतीको उत्तिकै हमला भइरहेको हुन्छ । यो परिस्थिति सबैका लागि हो । यसलाई महिलाको सन्दर्भसँग जोडेर हेर्दा म अलि गम्भीर हुन्छु । घर, परिवार, समाज र पेशाबीचको सन्तुलन सजिलो कुरा होइन । महिलाका लागि त झन् कठिन हुन्छ ।
किन नि?
स्वभावले महिलाहरु घर र परिवारप्रति बढी जिम्मेवार हुन्छन् । श्रीमान, दाजु, भाइ वा अन्य सदस्यको साथ हुँदा पनि घरको सुन्दरता, खानपिनको जोहो, आपसी हेरचाहमा महिलाको भूमिका धेरै छ । यहाँको व्यस्तताबाट बाहिर आएर समाज र पेशासम्म पुग्दा धेरै यात्रा पार गरिसक्नु पर्छ । यसकारणले भन्न खोजेकी ।
महामारीको कुरा गरौं, नर्स हुनुको नाताले कोविड १९ को समय कस्तो रह्यो ?
यो सबैका लागि जटिल समय हो । आफू र परिवार बचेर मात्र पुग्ने थिएन । कोविडको संक्रमण नफैलिँदै नेपालबाट अमेरिका आउनु भएका धेरै परिवार हुनुहुन्छ । उहाँहरुमध्ये धेरैले उच्च रक्त चाप, मधुमेहजस्ता समस्याका कारण कुनै कुनै न कुनै प्रकारको औषधि गर्नुहुन्छ । लामो समयसम्म अमेरिका बस्नुपर्दा नेपालबाट ल्याएको औषधि सिद्धियो । त्यहाँका डाक्टरले शिफारिस गरेको औषधि यहाँ नपाइने भएपछि उहाँहरुमा समस्या सुरु भयो । उहाँहरुमध्ये २६५ जनाभन्दा बढी व्यक्तिलाई औषधि उपलब्ध गराएर समन्वय गर्न पाएँ । यसबाट औषधि पाउनेहरु कत्ति खुशी हुनुभयो । उहाँहरुको खुशीले आफूभित्र सन्तुष्टिको मात्रा बढ्दै गएको छ । यस्ता कामप्रति थप जिम्मेवार बनेकी छु ।
कोविड व्यवस्थापन गर्न स्वास्थ्यकर्मी अग्रपङ्तिमा रहनु पर्ने अवस्था छ । कोविड व्यवस्थापन र महिला स्वास्थ्यकर्मी सम्बन्धलाई कसरी महसुस गर्नुभएको छ ?
ओहो, अवस्था जटिल रह्यो । यस बेला व्यक्तिहरुमा शारीरिकभन्दा धेरै चाहिँ मानसिक समस्या थियो । भाइरसको गुण नयाँ भएकोले स्वास्थ्यकर्मी आफैंकाविच पनि बुझाइमा एकरुपता ल्याउनु पर्ने थियो । यसमा पनि विरामीको प्रत्यक्ष र नियमित सम्पर्कमा बसेर काम गर्नुपर्ने नर्निङ् सेवाका स्वास्थ्यकर्मीहरुका लागि झन् जटिल थियो । यसलाई व्यवस्थापन गर्न हामीले अनलाइन प्रणालीमार्फत सिकाइ र अनुभव आदान प्रदान गर्यौं । कोविड १९ को प्रभाव अहिले अलि कम भएको छ । महामारीका बेला करीब ८१ वटा वेविनार गरेका थियौं ।
यसरी कार्यक्रम गरिरहँदा नेपालमा गरिएका महिला दिवस कस्ता भए होलान्? भनेर कल्पना गर्नुहुन्छ ?
नेपालका कार्यक्रम महिला सशक्तिकरणका बढी केन्द्रीत भए होलान् भन्ने लागेको छ । संविधानले महिलालाई धेरै अधिकार दिएको छ । कानुनी रुपमा महिलालाई सांस्कृतिक, आर्थिक, सामाजिक र राजनीतिक नेतृत्वमा पुग्ने वातावरण तयार भयो । तर, व्यवहारिक रुपमा बलात्कारजस्ता जधन्य अपराध भइरहेकै छन् । यस बेला संविधानले महिलालाई दिएका अधिकार कार्यान्वयनमा सबैको एक मत आवश्यक देखेकी छु ।
यसबर्षको नारा ‘चुज टु च्यालेन्ज’ र पेशाकर्मी महिलाको अवस्थालाई कसरी हेर्नुहुन्छ ?
यो सान्दर्भिक छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने पेशाकर्मीहरुको विश्वमा तथ्याङ्क हेर्नुहुन्छ भने करीब ६५ प्रतिशत महिला स्वास्थ्यकर्मी हुनुहुन्छ । त्यसमा धेरैजसो नर्सिङ् सेवामा हुनुहुन्छ । कुल महिलाको संख्यामध्ये करीव ३० प्रतिशत मात्र नेतृत्वमा हुनुहुन्छ । यो संख्या निराश हुनु पर्ने चाहिँ होइन तर पुग्नेजत्तिको संख्या भने होइन । अबका कार्यक्रम तर्जुमा गर्दा यो अवस्थालाई विश्लेषण जरुरी छ ।
महिलालाई नेतृत्वमा पुर्याउन चाहिँ के गर्नुपर्ला ?
सबैभन्दा पहिलो बालिकाहरुलाई शिक्षा दिनुपर्छ । त्यसलाई उच्च शिक्षासम्म पुग्ने सहज वातावरण मिलाइदिनुपर्छ । दोस्रो उनीहरुले चाहेको पेशा प्रवेशका लागि नीति सहज हुनुपर्छ । पेशा प्रवेश गरिसकेपछि घर परिवारबाट सहयोग उपलब्ध गराउनुपर्छ । यसले उनीहरुलाई नेतृत्वमा पुग्न प्रोत्साहन हुन्छ । यदि महिलालाई पेशामा परिवारबाट सहयोग भयो भने उहाँलाई सामाजिक काम गर्न पनि सहयोग हुन्छ । त्यसपछि परिवार, पेशा र सामाजिक कामलाई सन्तुलित बनाएर अगाडि बढाउन सकिन्छ ।
तपाईँ त परिवार, पेशा र समाजलाई सन्तुलित रुपमा व्यवस्थापन गरिरहनु भएको छ । पेशागत जीवनमा अविष्मरणीय क्षण केही छन्?
त्यस्ता क्षण त धेरै छन् । तीमध्ये सामाजिक क्षेत्रको कुरा गरौं । सन् २०११ तिरको कुरा हो । त्यसबेला म रेष्टन हस्पिटलमा काम गर्थेँ । त्यसबेला मलाई ‘फस्ट ह्युमानटरियन अवार्ड’ का लागि घोषणा गरियो । त्यो घोषणा गर्नुअघि करीब १ हजार कर्मचारीका विचमा भोटिङ्ग गरिएको रहेछ । यति भनिरहँदा मैले कोविडको समयका गरेको काम पनि भन्नुपर्छ । नेपालबाट आएको १ जना विद्यार्थीमा कोविड संक्रमण भएर भएछ । पढ्न आएको, आफ्ना कोही थिएनन् । एक्लो भएकोले मानसिक रुपमा तनाव । विस्तारै बोल्न गाह्रो भएछ । अक्सिजनको मात्रा घटेपछि मैले थाहा पाएँ । उहाँ अर्कै राज्यमा भएकोले त्यति सजिलो थिएन । मैले उनलाई तिमीलाई जेजे पर्छ म गर्छु, चिन्ता नमान भनेँ । आवश्यक केही सहयोग गरेँ । पछि राम्रो भयो । यसरी अगाडि के हो भनेर अन्यौलमा परेकालाई सहयोग गर्न पाउँदा आनन्द हुने रहेछ । सहयोग गरेपछि प्राप्त सफलताको यो अनुभूति म सम्झिरहन्छु ।
यो सामाजिक सेवाबाट प्राप्त सन्तुष्टिको कुरा एक छिन थाँती राखौं । यता पेशागत जीवनमा सफल हुन चाहिँ के गर्नु पर्दोरहेछ ?
मिहनेत र परिश्रमले गुरुमन्त्र हो । नियमित काम गरिरहेपछि अवश्य सफल होइन्छ । दोस्रोमा परिवारको समर्थन र तेस्रोमा आफन्त तथा शुभेच्छुकको समर्थनले पेशामा सफल हुन सकिन्छ । यसबाट सन्तुष्टि पनि मिल्छ ।
अर्को सन्दर्भमा कुरा गरौं, पेशाकर्मीलाई त अगाडि बढ्न सजिलै हुन्छ । अर्को एक थरी महिला पारिवारिक जीवनमा हुनुहुन्छ नि, उहाँहरुलाई नेतृत्वमा जान कति सजिलो छ ?
गहिरो कुरा उठाउनु भयो । नेतृत्व निर्माण र विकासको आधार भनेको घर परिवार नै हो । नेतृत्व गर्न जान्छु, भन्ने सोच र आत्मविश्वाश विकास गराउने नै परिवारले हो । यसपछि समाज हो । घरमै पनि नेतृत्व हुन्छ । यसलाई हामी सामान्य रुपमा लिन्छौं तर यसको प्रभाव गहिरो हुन्छ । घरको नेतृत्वले समाजमा, समाजबाट विस्तारै वडा, पालिकाहुँदै हुँदै केन्द्र र अन्तरराष्ट्रिय स्तरमै पुग्न सकिन्छ नि । त्यसैले पारिवारिक जीवनबाट केही हुँदैन भनेर सोच्न हुन्न ।
महिला नेतृत्वका लागि नेपालमा कस्ता काम भइ दिए हुन्थ्यो भन्ने लाग्छ ?
नेतृत्व विकास कै कुरा हो । कोविडको सन्दर्भ हेर्नोस्, विश्वमा यसको वृद्धि दर र नियन्त्रण दरका हेर्दा महिलाले नेतृत्व लिएका ठाउँमा वृद्धि दर कम र नियन्त्रण दर छिटो भएको देखिन्छ । यसको अर्थ पुरुष नेतृत्वले गर्दैन भन्ने होइन । तर महिलाहरु कामको परिणामका लागि अलि बढी संवेदनशील हुन्छन् । भन्ने चाहिँ हो । त्यसैले नेपालमा सांख्यिक रुपमा महिलाको नेतृत्व बढोस् । हुन त नेपालको शासन प्रणालीमा प्रमुख र उपप्रमुखमध्ये एकजना अनिवार्य महिला हुने कानुन बनाएको छ । नीतिगत रुपमा यो प्रशंसनीय छ । यसबाट उहाँहरु नेतृत्वमा पुग्ने बाटो खुल्यो । उहाँलाई सफल बनाउने अरुको सहयोग पनि चाहियो । होइन र ? (प्रतिप्रश्न)
नेपालमा महिला नेतृत्व विकासका लागि वा महिला शसक्तिकरणका लागि केही गर्ने योजना छ ?
यो अझ जटिल प्रश्न आयो । (हाँस्दै), नेतृत्व विकासका कार्यक्रमका लागि केही सर्त हुन्छन् । ती सर्त एक्लैको प्रयासले पुग्दैन । यहाँ व्यक्ति, परिवार, समाज र देशको नीतिको चक्र हुन्छ । यो राजनीतिक विषय पनि हो । त्यसको एउटा भाग म हुँ । अहिले यी सबै तत्वको अन्तरनिहित सम्बन्ध र छुट्टै हुँदाको अवस्था हेरिरहेकी छु । भित्री चाहना छ । सामान्य केही योजना छन् । तर, यसरी काम गर्छु भनेर निर्णयमा पुगिसकेकी छैन ।
तपाईँको दृष्टिमा महिला नेतृत्वको थालनी बिन्दु के हो त?
संस्कारयुक्त शिक्षा र परिवारको सहयोग
यो भनेको के हो?
तपाईँलाई मेरै परिवारको उदाहरण दिउँ । २ छोरीका साथमा हामी अमेरिका बस्छौं । २ बर्ष हामीसँग आमा पनि हुनुहुन्थ्यो । पछि हामीविच रहनु भएन । आमालाई मेरी सानी छोरीले १६ बर्षकी हुञ्जेल मेरी आमा कि मेरो श्रीमानको आमा भनेर चिन्दिन थि । मैले के भन्न खोजेको भने आमा र बुबाकी आमाकाविच हुने फरक मैले महसुस हुन नै दिइन । आमा रहुञ्जेल हामी संयुक्त परिवारमा थियौं । त्यसबेला छोरीहरुलाई घरमा दिएको संस्कारले मानवीय छन् । मैले घरमा दिएको संस्कारले उनीहरुले पाएको शैक्षिक उपलब्धिलाई सुन्दर बनाइदिएको छ । उनीहरु धेरै पैसा कमाउनभन्दा समाज सेवा गर्नमा रुचि राख्छन् । यही बाटोमा निरन्तर लागिरहेपछि नेतृत्वमा पुग्न के बेर लाग्छ र?
धेरै कुरा भो, छुट्टिदै गर्दा केही कुराले बिट मार्न मन छ ?
उत्तर दिन हम्मे हम्मे पर्ने प्रश्न गर्नुभयो । मैले जानेको ज्ञान र अनुभवका आधारमा उत्तर दिएँ । अन्तिममा यत्ति हो । नेपालमा बलात्कारजस्ता अपराधलाई शुन्यमा झारेर महिलामाथि हुने अपराधको एउटा युगको अन्त्य गरौं । कानुनले त धेरै दियो । यसरी दिएको कुरा लिन पनि क्षमता चाहिन्छ । त्यसैले महिलाको क्षमता विकासमा गम्भीर बनौं । घर, परिवार, समाज, सभा, समारोह जहाँ पनि लैङ्गिकमैत्री संवाद गरौं । नारी पुरुष दुवैको आत्मसम्मान बढ्ने व्यवहार गरौं । अन्तिममा (हाँस्दै) महिलालाई नेतृत्व गर्न सक्ने बनाऔं ।