काठमाडौं । भगवान् शिवको पूजा-आराधना गरी बिहीबार देशभर महाशिवरात्रि पर्व मनाइँदैछ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरि शिवालयमा गएर श्रद्धापूर्वक पूजाआराधना गर्छन् । महाशिवरात्रिको अवसरमा बिहीबार राजधानीको पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ । आज पाशुपत क्षेत्रमा हुने शिवरात्रि पर्वको सबै तयारी पूरा भएको जनाइएको छ ।
कोरोना महामारी कायमै रहेकाले यो वर्ष मास्क नलगाउनेलाई पशुपतिनाथको दर्शनमा रोक लगाइने भएको छ । यस वर्ष पहिलेभन्दा कम श्रद्धालुले मात्र पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ । भारतबाट आउने साधुसन्तको सङ्ख्या पनि निकै कम छ । शिवरात्रिको तयारी कसरी भइरहेको छ भनेर बुझ्न हामी पाशुपत क्षेत्रमा पुगेका छौं । पशुपतिमा पोहोर परारजस्तो शिवरात्रिको रौनक छैन । नेपाल र भारतका विभिन्न ठाउँबाट शिवरात्रिकै लागि भनेर साधु बाबा पशुपति आएका छन् । पशुपतिमा शिवरात्रिमा आउने भक्तजनको व्यवस्थापनका लागि ४ हजार स्वंयसेवकहरु परिचालन गरिएको छ ।
पशुपतिनाथको मन्दिर नजिकै मूल स्वास्थ्य शिविर राखिएको छ । ३० वटा संस्थाले स्वास्थ्य सेवा प्रदान गर्नेछन् । यस्तै एम्बुलेन्स र आपतकालीन अवस्थाका लागि दमकल समेत रहने व्यवस्था मिलाइएको छ । नित्य दर्शनका लागि बिहान ७ बजे भित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा दर्शनार्थीलाई भौतिक दूरी कायम गर्दै स्यानिटाइजर र माक्सको प्रयोगलाई अनिवार्य गरिएको छ ।
पशुपतिको हंस मण्डपमा ५० वटा समेत गरी वनकाली र तीलगंगाको क्षेत्रलाई आवास क्षेत्र तोकिएको छ । यहाँ ९५ वटा संघसंस्थाले निशुल्क भोजन, पानी, चिया वितरण गर्दैछन् । साधुसन्तहरुका लागि वनकाली र तिलगंगा क्षेत्रमा निशुल्क खाना सहित आवासको व्यवस्था मिलाइएको छ । शिवरात्री सम्पन्न भएपछि बाटो खर्च सहित साधुसन्त र जोगीबाबाको विदाइ गरिने छ । पशुपति क्षेत्रमा गाँजा भाङ जाँड रक्सी जस्ता नसालु पदार्थ निषेध गरिएको छ ।