यती एयरलाइन्सले पुरानो भएको भन्दै दुई–दुईपटक विस्थापन गर्न खोजेका ३० वर्ष पुराना जहाज सिम्रिक एयरलाइन्सलाई बिक्री गर्न लागेको छ । तिनै जहाज किनेर सिम्रिकले गुण एयरलाइन्सका नाममा उडान गर्ने भएको छ । यतीले ०७० मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ०७५ भित्र ३० वर्ष पुराना जेटस्ट्रिम जहाज विस्थापन गर्ने र एटिआर जहाजमार्फत उडान गर्ने प्रस्ताव गरेको थियो । त्यस अवधिमा जहाज विस्थापन गर्नुको साटो यतीले ०७५ मा पुनः ३ वर्ष समय मागेर जेठ ०७८ सम्म जहाज विस्थापनको अवधि थप गराएको थियो । तर, सो समयावधि सकिन केही महिना मात्रै बाँकी रहेका ती जहाज किनेर सिम्रिक एयरलाइन्सले उडान गर्न लागेको हो ।
जेटस्ट्रिम जहाज बेलायतको ब्रिटस एरोस्पेसले सन् १९९२ मा पहिलोपटक उडान गराएको थियो । जेटस्ट्रिम जहाज बेलायतको ब्रिटस एरोस्पेसले सन् १९९२ मा पहिलोपटक उडान गराएको थियो । तिनै जहाज यतीले अहिले उडाइरहेको छ । ‘यती एयरलाइन्सले पर्यटन मन्त्रालयमा दुईपटकसम्म आफैँले विस्थापन गर्ने प्रस्ताव पठाएको जहाज अहिले सिम्रिकलाई बिक्री गर्न लागेको सुनेर अचम्म लागेको छ,’ पर्यटन मन्त्रालय स्रोतले भन्यो ।
जेटस्ट्रिम जहाज संसारभर १ सय थान मात्रै उत्पादन गरिएपछि बन्द गरिएको थियो । हाल यती एयरलाइन्सले उडान गरेका ५ थान जेटस्ट्रिम जहाज अफ्रिकन एयरलाइन्स कम्पनी इजी फ्लाईमार्फत सन् १९९८ मा खरिद गरेको थियो । २९ सिट क्षमताका जेटस्ट्रिम–४१ सिरिजका जहाजमध्ये एक थान सन् २०१६ मा भैरहवा विमानस्थलमा दुर्घटना भएको थियो ।
यती एयरलाइन्सको उक्त जहाज दुर्घटना हुदाँ मानवीय क्षति नभए पनि जहाजमै गम्भीर सुरक्षामा समस्या देखिएको भन्दै छानबिन आयोगदेखि प्राधिकरणको हवाई सुरक्षा शाखाले गम्भीर चासो दिएको थियो । ‘जेटस्ट्रिम जहाजका स्पेयर्स पार्टस्देखि इन्जिनमा समेत प्राविधिक समस्या पर्न थालेको छ, सोही कारण यतीले विस्थापनको नीति लिएको हो, तर सिम्रिकले किन लिन खोजेको बुझ्न सकिएन,’ स्रोतले भन्यो ।
यतीसँग रहेका पाँचवटा जेटस्ट्रिममध्ये तीनवटा ग्राउन्डेड छन् । अधिकांशको फ्लाइङ आवर १ वर्ष मात्रै बाँकी छ । अहिले दुईवटा १८ सिट क्षमताका विचक्राफ्ट–१९०० मार्फत सिम्रिकले उडान गर्दै आएको छ । सिम्रिकले यसअघि एटिआर–७२ जहाज ल्याएर ट्रंक रुटमा उडान गर्ने योजना नै सार्वजनिक गरेको थियो । ‘तर, अहिले सस्तोकै लागि यतीका थोत्रा जहाज खरिद गर्न खोजेको देखियो,’ प्राधिकरण सम्बद्ध स्रोतले भन्यो ।
यतीका जहाज खरिदका लागि फाइनल चरणको डिल चलिरहेको सिम्रिक एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बालकृष्ण श्रेष्ठले बताए । ‘यतीले विस्थापनका लागि मन्त्रालयमा निवेदन दिएको विषय जानकारी छैन,’ श्रेष्ठले भने । यसअघि एटिआर–७२ जहाज ल्याउने भने पनि अहिले यतीको जेटस्ट्रिम जहाज खरिदका लागि अन्तिम चरणको छलफल गरिरहेको उनले बताए ।
सहकारी र घरजग्गा व्यवसायबाट टाट पल्टिएका सुधीर बस्नेतले सञ्चालन गरेको अग्नि एयरलाइन्स र आर्थिक संकटमा फसेका घरजग्गा व्यवसायी राजेन्द्र शाक्यको गुण एयरलाइन्सका दुई–दुई जहाज क्याप्टेन रामेश्वर थापाले खरिद गरेर सिम्रिक एयरलाइन्स कम्पनी खडा गरेका थिए । केही महिनाअगाडि मात्रै थापा समूह सिम्रिकबाट बाहिरिएसँगै घरजग्गा व्यवसायी शाक्य बहुमत सेयरसहित आफँै अध्यक्ष बनेका थिए । शाक्यले सिम्रिक एयरलाइन्सको नाम परिवर्तन गरेर गुण एयरलाइन्स बनाउन पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएका छन् ।