काठमाडौं । चिनियाँ अकुपन्चर पद्दति छ हजार वर्षदेखि प्रयोग हुँदै आएको एक उपचार विधि हो । यस उपचार पद्दतिबाट निद्रा नलाग्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, कान बज्ने, रूघा लाग्ने, पिनास, दम, छाती र घाँटी सम्बन्धी रोग विभिन्न पेट सम्बन्धी रोग, कब्जियत, पखला लाग्ने, पिसाब गरेको थाहा नहुने, उच्च रक्तचाप, न्यून रक्तचाप, मुटु सम्बन्धी रोग, पक्षघात, काम्ने रोग, मुख वाङ्गो हुने आँखा परफराउने, घाँटी सम्बन्धी रोग, कुम दुख्ने, ढाड दुख्ने, जोड्नी सम्बन्धी रोग, प्यारालाइसीस साथै अन्य रोगहरु निको हुन्छन् । गर्वाधारण गरेको महिला, क्यान्सर रोगिका साथै गम्भीर प्रकारको इन्फेक्सन भएको व्यक्ति बाहेक सानासाना बच्चादेखि ९० वर्षको वृद्धसम्मले अकुपन्चर पद्दतिबाट उपचार गराउन सक्छन् ।
यस पद्दतिको सिद्दान्त मेरिडियन अर्थात शरीरको उर्जा बिन्दुसँग सम्बन्धित छ । यो उर्जालाई ‘छि’ भनिन्छ । यदि हाम्रो शरीर स्वस्थ्य र सन्तुलित छ भने छि शरीरको सबै च्यानलबाट जान्छ । शरीरको शक्ति वा इनर्जी ब्यालेन्समा छैन भने अकुपन्चरले ब्यालेन्समा ल्याउने काम गर्छ ।
अकुपन्चर पद्दतिमा सबै भन्दा पहिले बिरामीको दुखाइ वा रोग र इनर्जी च्यानललाई ध्यान राखेर शरीरको पोइन्टलाई चुनिन्छ र पोइन्ट चुनिसकेपछि त्यसलाई इन्फेक्सन नहोस भनेर स्पिरिटले सफा गरिन्छ । साथै विशेष प्रकारको सुई तालिम प्राप्त प्रावधिकले त्यो पोइन्टमा लगाउँछन् जसकारण बिरामीलाई कुनै पनि प्रकारको दुखाईको महसुस नै हुँदैन ।
सुई लगाए पछि शरीरको इनर्जी लेभल ब्यालेन्समा आउछ र रोग निको हुँदै जान्छ । वैज्ञानिक तरिकाले हेर्ने हो भने सुइले शरीरमा इन्डोर्फिन उत्पादन गर्छ जुन एक प्रकारको न्युरो ट्रान्समिटर हो जसले शरीरमा शान्ति दिन्छ र दुखाई कम गर्ने पेन किलरको रुपमा काम गर्छ ।
अकुपन्चर पद्दतिले उपचार गर्दा कुनै प्रकारको दुखाई हुँदैन । यस पद्दतिबाट उपचार गर्दा सुई मेन च्यानल पत्ता लगाई पोइन्टमा घोचिने भएकोले धेरैले यो पिडादाई हुन्छ भनेर सोच्छन् । तर वास्तवमा यस्तो हुँदैन । यदी दुखाई भए पनि यो उपचार गर्ने व्यक्तिको कार्य कौसलता, दक्षता र सिकाईको कारणले हुने गर्दछ ।
चिनियाँ साँस्कृतिक केन्द्रले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर यसबारे जानकारी गरायो । केन्द्रका निर्देशक यिन खुन सोङले अकुपन्चर पद्दति नेपालमा पनि विस्तार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका प्रमुख सल्लाहकार डा. कृष्णकुमार राईले नेपालको भौगोलिक र सांस्कृतिक अवस्थाका आधारमा अक्युपङ्चर प्रविधि उपयुक्त हुने धारणा राख्नुभयो । उहाँले यो विधिको वृद्धि र विकास गर्न स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायले पहल गर्नु पर्ने धारणा राख्नुभयो । बिना औषधी सहज र सस्तो रुपमा गरिने चिनिया उपचार पद्धति नेपालको लागि बरदान हुने उहाँको भनाई छ ।
कार्यक्रमका सहभागिहरुले अकुपञ्चर विधिद्धारा उपचार समेत गराएका थिए ।