काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।चन्द्र पात्रोअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने यस पर्वमा तामाङ समुदायले कूल पूजा, प्रकृति पूजा र बुद्ध शिक्षाको स्मरण गर्नाका साथै आफन्तजन भेला भई भोजन एवं मनोरञ्जन गर्दै आपसमा खुशी आदानप्रदान गर्ने प्रचलन रहिआएको छ ।
तामाङ सहित देशका विभिन्न भागमा बसोबास गर्ने ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले आ–आफ्नै शैली र परम्पराअनुसार मनाउँदै आएको पाइन्छ । कोरोना महामारीका कारण यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर ल्होसार मनाइने सम्बद्ध समुदायले जनाएको छ । यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताउनुभएको छ। सोनाम ल्होसार, २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विविधतामा एकतामाथि गर्व गर्ने आधार चाडपर्वले दिएको स्पष्ट पार्नुभयो।
राष्ट्रपतिले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।