एजेन्सी । लेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत बुधबार बिहान घरेलु मैदानमा सम्पन्न खेलमा लेस्टर सिटीले चेल्सीमाथि २–० गोल अन्तरको जित दर्ता गर्दै शीर्ष स्थानमा पुगेको हो ।
लेस्टरले दुवै गोल पहिलो हाफमा नै गरेको हो । लेस्टरका लागि छैटौँ मिनेटमा विल्फ्रेड एनडिडी र ४१ औँ मिनेटमा जेम्स म्याडिसनले गोल गरे । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र लेस्टर सिटी २–० ले विजयी भयो ।
म्यानचेस्टर युनाइटेडलाई एक अंकले पछि पारेको लेस्टर सिटीको १९ खेलबाट ३८ अंक भएको छ । पराजित भएको चेल्सी १९ खेलबाट २९ अंकसहित आठौँ स्थानमा छ । त्यस्तै लिग अन्तर्गत भएको अर्को खेलमा वेष्ट ह्यामले वेष्ट ब्रोमलाई २–१ ले पराजित गरेको छ ।