नेपाल कमिन्युस्ट पार्टी(नेकपा)को दुई तिहाई सरकार अहिले सत्तासिन रहेको छ । प्रधानमन्त्री केपी ओलीको सरकारले दुई तिहाईको समर्थन पाएको छ । सरकार गठन भएको पनि ९ महिना बढी भइसकेको छ । नेकपाभित्रका आन्तरिक असहमतिका केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाडफाँट गर्न सकिएको छैन । एकता प्रक्रियामा समेत मतभेद देखिएको छ । नेकपाको सरकारले जसरी लोकप्रियता हासिल गर्नुपर्ने हो त्यो देखिएको छैन् । एकिकरणका बेला ‘जेट विमान’मा दुई पाइलट रहने उद्घोष गर्नुभएका प्रधानमन्त्री ओलीलाई विमान बिग्रियो की ? पाईलट बुढा भए ? भन्ने समय आएको नेकपाकै नेताहरु बताउँछन् । के हो नेकपाको समस्या ? कहिले र कसरी सुल्झिन्छ ? यसै बिषयमा क्यापिटल एफएमले नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरैसँग कुराकानी गरेको छः–
१. पार्टी एकिकरण भएको ७ महिना पुग्नै लाग्यो, एकिकरणका बेला प्रधानमन्त्रीले भन्याजस्तो दुई पाइलटको जेट विमान राम्रै चलिरहेको जस्तो लाग्छ तपाइलाई ?
राम्रै चलेको छ । अझै तेज रुपमा चलाउनु छ । पछिल्लो समय पार्टी एकिकरणमा देखिएका गतिरोधलाई अन्त्य गर्दै अझै परिष्कृत ढङ्गले पार्टीलाई मजबुद बनाउनु छ । ९–१० महिनामा आकाशै पल्टाउन सकिन्छ भन्ने भ्रमबाट मुक्त हुनु जरुरी छ । सरकारले विभिन्न अवरोधका बाबजुद आफ्नो कार्यदिशालाई राम्रै ढङ्ले अगाडि बढाएको छ । केही अप्ठ्याराहरु देखिएका छन् समाधान गर्दै लैजाने हो । सरकारका कामप्रति जनताका गुनासाहरुलाई सम्बोधन गर्दै जाने बिषयपनि छदैछ ।
२. तपाई आफू त आधिकारिक जिम्मेवार विहीन हुनुहुन्छ नी ? जिम्मेवार विहीन भएर पार्टी नेता भनिइरहँदा कस्तो हुँदो रहेछ ?
तपाइले राम्रो प्रश्न गनुभयो । तर, म जिम्मेवार विहीन होईन । पार्टीले खटाएको जिम्मेवारीमा हामीले लाग्नु पर्छ । हामीले सरकारलाई सहयोग गरिरहेकै छौ । केही समययता पार्टी पङक्तिमा देखिएको मतभेद सामान्य हो । पार्टीलाई सञ्चालन गर्न आवश्यक प्रक्रिया विधिविधानमा जानु जरुरी हुन्छ । सबैका ईच्छा आकांक्षा समान हुँदैनन् । धरै बिषयलाई मिलाउन पार्टीको तल्लो तहबाट दबाब दिनुपनि जरुरी हुन्छ ।
३. तपाईहरु २२ जनाले नेतृत्वको मनोमानी विरुद्ध ज्ञापनपत्र नै बुझाउनुभयो, साच्चै पार्टीकै लागि सोच्नु भाको की मैले पाइन भन्ने असन्तुष्टि हो ?
हामी अहिले २२ जना मात्रै होईनौ ४५ भन्दा बढी केन्द्रीय सदस्यहरुले जिम्मेवारी बाडफाँटमा नेतृत्वलाई दबाब दिएका छौ । अब बस्ने २९ गतेको स्थायी कमिटी बैठकले एकै दिनमा सबै बिषय सक्छ भन्ने होईन । त्यहाँबाट प्रक्रिया प्रारम्भ हुन्छ । आशा छ केन्द्रीय सदस्यहरुको बाडफाँट र एकिकरण प्रक्रियाले सार्थकता पाउनेछ । बैठक, बहस नभइकन निष्कर्षमा पुग्नै सकिन्न त्यहीं भएर हामीले बैठकको आह्वान गरेका हौँ । तपाइले भनेजस्तो, मैले जिम्मेवारी पाइन, म बेरोजगार भए भन्नेपनि होईन । आफूलाई अनुसासित र पार्टीप्रति उत्तरदायी बनाउन जिम्मेवारीको खाँचो पर्दोरहेछ । फेरि हामीले केही नगरेको भन्ने होईन । पार्टी र सरकारलाई सफल बनाउनका निम्ति आफ्नो योगदान छदैछ ।
४. सरकारकै कामप्रति पनि आम जनता सन्तुष्ट छैनन्, सरकारलाई आफूले ठूलै काम गरेको दम्भ छ, तपाइलाई के लाग्छ ?
तपाई भन्नुभएको ठिक हो, तर सरकारले काम गर्ने क्रममा देखिएका गतिरोधको समिक्षा गर्नपनि जरुरी रहेको छ । बिग्रिएको सिस्टमलाई एक लेभलमा ल्याउन पक्कै सकस हुन्छ । जताततै निराशा छाएको अवस्थामा सरकार जनमुखी बन्न प्रयत्न गर्दैछ । स–साना एजेन्डा लिएर सरकारलाई फेल गराउन देशी विदेशी तत्वहरु सक्रिय बनेका छन् । उनीहरुले देश हितका मुद्धा भन्दा पनि देशलाई अशान्तिको बाटोमा डो¥याउने खालका एजेन्डा बोकेका छन् । मुलुक बनाउनलाई प्रतिपक्षको उत्तिकै भुमिका रहन्छ । तर, प्रतिपक्षले अकास्मात घट्ने घटना र भव्यतव्यमा आइपर्ने समस्याको समाधान गर्नुको साँटो राजनीतिकरण गराएर उपद्रो मच्चाएको तपाईले देख्दै हुनुहुन्छ ।
५. सरकारलाई मैले सहयोग गरेन की भन्ने लाग्दैन ? तपाई त जिम्मेवारीमै अल्झिनुभयो ?
छैन । सरकारलाई सहयोग नगरेको भन्ने कहाँबाट आयो ? सहयोग गरेकै छौ । पार्टीभित्रका आन्तरिक बिषयमा नेतृत्वलाई ध्यान भएन भन्ने हो । हामी पनि पार्टीप्रति त्यतिकै जिम्मेवार छौ ।
६. कांग्रेसको आर्थिक नीति प्रस्तावित भयो त्यो त नेकपाको भन्दा बढी समाजवादी देखिन्छ तपाइहरुले आफूलाई कमिन्युस्ट पार्टी भनिरहँदा अब कस्तो दबाब महसुस गरिरहनुभएको छ ?
कांग्रेसले अहिले आएर थाहा पायो, हामीले २०५१ मै थाहा पाइसकेका थियौँ । मनमोहन सरकारको पालादेखि शुरु भएको बृद्धभत्ता होस या अन्य स्वरोजगारका कार्यक्रम हुन् यी हाम्रो प्राथमिकताका जहिले परेका छन् । अमुख पार्टीहरु अहिले आएर ब्यूतिन थालेका छन् । मुलुकलाई समृद्ध बनाउने दिशामा सक्रिय हुनु राम्रो बिषय हो ।
पत्रकार खेम बमले कार्यक्रम सीधा कुरामा गरेको बहसमा आधारित