परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको भारत भ्रमणको औपचारिक तयारी पूरा भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
दुई मुलुकबीचको सम्बन्धलाई थप उचाईमा पु¥याउने, लगानी, यसअघि भएका विभिन्न सम्झौताको कार्यान्वयन, कोभिड विरुद्धको खोपमा सहयोग जस्ता विषयहरु नेपालको एजेण्डा रहेको परराष्ट्र उच्च श्रोतले जनाएको छ ।
नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली सहितको उच्चस्तरीय टोली भोली दिल्ली जाँदैछ । दुई मुलुक बीचको सवैभन्दा माथिल्लो स्तरको संयन्त्र भएकाले पनि संयुक्त आयोगको बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।
संयुक्त आयोगको बैठकबाट भारतले मिचेको नेपाली भूमी लिपुलेक, लिम्पियाधुरा, कालापानी तथा इपीजीको प्रतिवेदनका विषयमा भने ठोस निश्कर्ष आउने सम्भावना कम छ ।
संयुक्त आयोगको बैठकमा भारतीय पक्षले कोभिड विरुद्धको खोपको वितरणलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिने परराष्ट्र उच्च श्रोतको दावी छ । भारतले नेपाललाई कोभिड विरुद्धको खोपमा सहज पहुँच दिने विषयमा भने सहमति हुने छ ।
परराष्ट्रमन्त्री ज्ञवाली, सचिव भरतराज पौड्याल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, भारतका लागि नेपाली राजदुत नीलाम्वार आचार्य एवं सरकारी उच्च अधिकारीहरु भ्रमणदलमा सहभागी हुनुहुनेछ ।