आज (शनिबार) काठमाडौंका दुई दर्जनभन्दा बढी स्थानमा बिजुली बन्द गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार चक्रपथ विस्तारका लागि ढुंगेधारा, गोलढुंगा, स्वयम्भू फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले त्यसअन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिने भएको हो।
प्राधिकरणको बालाजु बितरण केन्द्रले जारी गरेको सूचनामा नागार्जुन र तारकेश्वर नगरपालिकाका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ । प्राधिकरणका अनुसार शनिबार ढुङ्गेधारा, बनस्थली, चमती, रानिवन, भृकुटी टोल, नेपालटार, गोलढुङ्गा, तीनपिप्ले, ओशो तपोवन, धादिङको छत्रेदेउराली, स्वयम्भू, सानोभर्याङ, ठूलोभर्याङ, इचङ्गुनारायण, कारखाना चोक लगायतका स्थानमा विद्युतु आपूर्ति बन्द हुनेछ ।
तोकिएको समय अगावै काम सम्पन्न भएमा भने विद्युत् आपूर्ति समय अगावै हुने प्राधिकरणले जनाएको छ ।