बागमती प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेकपाकै पुष्पकमल दाहाल –माधव नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो ।
उहाँलाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । प्रचण्ड–नेपाल पक्षका ४५ प्रदेश सभा सदस्यले आज प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
त्यसअघि पत्रकार सम्मेलन गरी प्रचण्ड–नेपाल समूहमा रहेका तीनजना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । राजीनामालगत्तै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।
राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल रहनु भएको छ । उहाँहरू तीनैजनाले पनि अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नुभएको छ ।
प्रतिनिधिसभा विघटन सदर कि बदर, सर्वोच्चमा सुरु भयो सुनुवाई
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको १४ वटा रिटमाथि संवैधानिक इजलासमा सुनुवाई जारी छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वमा पाँच जनाको इजलासमा अहिले सुनुवाई भइरहेको हो ।
इजलासमा जबरासहित न्यायाधीशहरु हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा, विश्वम्भरप्रसाद श्रेष्ठ र तेजबहादुर केसी रहनुभएको छ । रिट निवेदकहरुले सरकारको निर्णयविरुद्ध अहिले बहस गरिरहेका छन् ।