जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केहि दिनदेखि लगातार देशभरको तापक्रम घट्दै गएपछि चिसो बढेको छ । तराईका जिल्लामा बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित बन्न थालेको छ ।
पुस महिना लागेसँगै देशभरि चिसो बढेको हो । तराईका जिल्लामा अत्यन्तै चिसो हुने र घाम नलाग्ने भएपनि अहिले नै त्यसलाई शीतलहर भने भन्न नमिल्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।
दिउँसोको समयमा केहीबेर हुस्सु कुहिरो हट्ने गरेकाले शीतलहर भन्न नमिल्ने मौसमविद्ले शाक्यले बताउनुभयो । शीतलहर चल्नका लागि केही दिनदेखि लगातार घाम नलाग्ने, बाक्लो हुस्सु र कुहिरो लाग्ने, शिरशिर हावा चल्ने र अत्याधिक चिसो महशुस हुनुपर्ने उहाँको भनाइ छ । अहिले बिहानदेखि लागेको हुस्सु कुहिरो दिउँसोको समयमा भने केही हट्ने गरेकाले पनि शीतलहर भन्न नमिल्ने उहाँले बताउनुभयो ।
तराईमा शीतलहर सुरु नभए पनि प्रारम्भिक चरणमा देखापर्ने अवस्था भने बिस्तारै देखिन सुरु भएको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा बिहानदेखि लागेको हुस्सु कुहिरो दिउँसोको समयमा भने केही हट्ने गरेको छ । तर, फेरि बेलुका हुस्सु लाग्ने गरेको मौसमविद् शाक्यले बताउनुभयो । चिसो बढेसँगै धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम घटेको छ ।
धनगढीमा हिजोको अधिकतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको थियो । आज १४ देखि १६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । यस्तै, नेपालगञ्जको पनि अधिकतम तापक्रम घटेर १६ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । काठमाण्डौको मौसम भने आज हिजोको जस्तै छ ।
आज न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ । जुम्लाको तापक्रम भने माइनस ६ दशमलव ४ डिग्री सेल्सियस छ।
देशभर तापक्रम घट्न थालेकाले स्वास्थ्यको ख्याल गर्न मौसमविद्को सुझाव छ । अब झन् चिसो अझै बढ्दै जाने भएकाले तातो न्यानो गरेर बस्न मौसमविद्ले सुझाव दिएका हुन् ।