काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले ब्रुमरले सङ्कलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ । महानगरले झण्डै दुई वर्षदेखि सडकमा ब्रुमरको सहायताले धुलो सङ्कलन गरी सडक सफा गर्ने काम गरिरहेको छ । अहिलेसम्म झण्डै छ हजार पाँच सय टन धुलो जम्मा भइसकेको छ ।
यसरी जम्मा गरिएको धुलो व्यवस्थापन गर्न समस्या भएको र उपयोग गर्न सकिने भएकाले इँटा बनाउनेबारे सम्बन्धित व्यक्तिसँग महानगरले छलफल गर्न थालेको छ । अहिले यसरी सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ ।
काठमाण्डौ महानगरपालिकाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार अहिले निर्माणका विषयमा छलफल र ठाउँ पहिचानको कुरा भइरहेको छ । महानगरले हरेक दिन सात वटा ब्रुमरले सडक सफा गर्ने काम गरिरहेको छ । महानगरले सुन्दर सहर निर्माण गर्ने कार्यअनुरूप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो ।
२०७५ फागुन २८ गते इटलीबाट १० करोड ८० लाख रुपैयाँमा ल्याइएका ती ब्रुमर सञ्चालनका लागि महानगरले पाँच मार्ग निर्धारण गरेको छ । त्यही मार्गअनुरूप काम भइरहेको छ । पानी पर्ने समयमा काम गर्न समस्या भए पनि अन्य समयमा भने काम नियमित भइरहेको कामपाको भनाइ छ ।
सडकका मुख्य ठाउँ नयाँ सडक, रत्नपार्क, जमल, कालीमाटी, कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायत ठाउँमा खाल्डाखुल्डी रहेकाले महानगरले सडक विभागसँग पुर्न आग्रह गरेको छ ।
यसअघि विशिष्ट व्यक्तिको आवतजावत भएका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई वटा ब्रुमरबाट सडक सफा गरिँदै आएको थियो । महानगरसँग यसअघि रहेको एक ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा छ । त्यस यन्त्रले पानी नपरेका दिन साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म सडक सफा गर्दै आएको छ ।
दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्न सक्ने क्षमताका पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा ६ टन क्षमताको छ ।
युरो मापदण्डका भनिएका ती ब्रुमरमा अगाडि, बीच र पछाडि भागका दायाँबायाँ प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् । कानुनीरूपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरकोे जिम्मेवारीमा पर्छन् भने अरु सडक विभागको मातहतमा छ ।