नेपाली कांग्रेसले आगामी २९ गते घोषणा गरेको सरकारविरुद्धको प्रदर्शनको जिम्मा जिल्ला कार्यसमितिलाई दिएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको बैठकले केन्द्रबाट पदाधिकारी नखटाउने निर्णय गरेको हो ।
सहमहामन्त्री डा. प्रकाशरण महतले २९ गतेको विरोध प्रदर्शन सांकेतिक मात्र भएकाले केन्द्रीय प्रतिनिधि नतोकिएको जानकारी दिनुभयो । यो सांकेतिक विरोध मात्रै भएको यहाँको भनाइ छ । त्यसपछि बृहत विरोधका कार्यक्रम ल्याउन ३० गते पछि छलफल सुरु हुने उहाँले बताउनुभयो ।
यसअघि नै जिल्ला कार्यसमितिलाई परिपत्र गरिसकेको कांग्रेसको पदाधिकारी बैठक केन्द्रबाट नेतृत्व गर्ने पदाधिकारी पठाउने नपठाउने भन्ने विषयको छलफलका लागि डाकिएको थियो ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले सरकारले प्रतिपक्षी विचारलाई निषेध गर्ने र त्यस्ता पक्षलाई दमन गर्ने रणनीति लिएको आरोप लगाउनुभयो । तरुणदलका नेताका हत्यादेखि विपक्षीलाई दमन गरेर जाने शैली विरुद्ध यसपटक सांकेतिक विरोध मात्र गर्न लागिएको बताउनुभयो ।
यसैवीच, सरकारविरुद्ध २२ कम्युनिष्ट पार्टी सडकमा उत्रने भएका छन् । राष्ट्रियता, जनजीविका लगायत सरकारले गरेका जनविरोधी, राष्ट्रविरोधी कामको विरुद्ध सडकमा उत्रने तयारी भएको हो ।
पछिल्लो समय देखा परेका प्रतिगमनको खतरा समेतको विरोधमा आगामी पौष ३ गते दिनको १ बजे माइतीघर मण्डलामा जम्मा भई जुलुस प्रदर्शनका साथ नयाँ बानेश्वरमा २ बजे कोण सभाको आयोजना गर्ने उनीहरुले विज्ञप्ति मार्फत जनाएका छन् । २२ पार्टीहरुको तर्फबाट नेता सीपी गजुरेलले विज्ञप्ति जारी गर्दै विरोधमा उत्रने जानकारी दिनुभएको छ ।