एजेन्सी । डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिमा नियुक्त हुनुपूर्व नै चिनियाँहरुले आर्थिक फाइदाका लागि आफ्नो मुद्राको गलत प्रयोग गरेको आरोप लगाएका थिए, जुन कुरामा उनी सत्यको नजिक थिएनन्। तर, हाल अमेरिका र चीनबीच चलेको व्यापार युद्धका कारण चिनियाँहरुले आफ्नो मुद्राको मूल्य घटाइ रहेका छन्। यस्तो काम नगर्न अमेरिकी राष्ट्रपति ट्रम्प र उनको प्रशासनले चीनलाई बारम्बार चेतावनी दिइरहेको छ।
अमेरिकाले सुरु गरेको व्यापार युद्धको चीनले पनि प्रतिकार गरिरहेको छ। अमेरिकाले चिनियाँ सामान विशेषगरी कृषि समाग्रीमा २ सय पचास अमेरिकी डलर थप कर लगाएको छ। जसको प्रतिकारमा चीनले पनि अमेरिकाले आयत गर्ने चिनियाँ समानभन्दा कम सामान अमेरिकाबाट आयात गर्न थालेको छ। यस्तै, चीनले पनि अमेरिकाले लगाएको थप कर कै हाराहारीमा अमेरिकी समानमा करको दायरा बढाएको छ। चीनले अमेरिकासँग हुँदै गरेको व्यापार युद्धबाट उम्किन अन्य उपायसमेत अपनाउन थालेको छ। सँगसँगै अमेरिकी विदेश नीतिलाई निस्तेज पार्ने प्रयास पनि गरेको छ।
अमेरिकाले सुरु गरेको व्यापार युद्ध विरुद्ध चीनले शक्तिशाली र खतरनाक आर्थिक हतियार प्रयोग गर्ने सम्भावना पनि रहेको बताइएको छ। वसन्त र ग्रीष्मयामको बीचतिर बेइजिङले अमेरिकाले आफ्ना उत्पादनमा लगाएको थप करसँग लड्न र अमेरिकालाई दुःख दिन आफ्नो मुद्रा स्फिति गर्ने तरिका अपनाएको थियो। चिनियाँ मुद्रा अघिल्ला वर्षहरुको तुलनामा अमेरिकी डलरभन्दा ९ प्रतिशतले कमजोर भएको छ। जसका कारण चिनियाँ सामान निर्यात निक्कै सस्तो भएको छ, भने यसका कारण अमेरिकालाई नै असर पुर्याएको देखिन्छ।
चिनियाँ मुद्रा युआन (जसलाई रेन्मिबी पनि भनिन्छ)को स्फिति यो हदसम्मको तीब्र गतिमा हुनुमा बेइजिङको एउटा निर्णय नै काफि थियो। बेइजिङले चाहेको भए उसको मुद्रा स्फितिलाई रोक्न सक्थ्यिो। किनभने हालपनि बेइजिङले उसको मुद्रालाई नियन्त्रण गरिरहेको हुन्छ। चिनियाँ व्यापार विशेषज्ञहरु ट्रम्पको व्यापार युद्धको प्रतिउत्तरमा अझै पनि आफ्नो मुद्राको मूल्य घटाउने दाबी गर्छन्।
‘यो वासिङटनलाई बेइजिङको खुला चेतावनी हो’, अन्तर्राष्ट्रिय आर्थिक संस्थाका प्रमुख रोविन बु्रकले भने, ‘तिमीले गरेका सबै कामलाई हामी स्वीकार्दैनौँ। यदी तिमी हाम्रा सामानमा थप कर लगाउँछौँ भने हाम्रो मुद्राको मूल्य अझै घट्नेछ र तिमी व्यापार युद्ध पहिला मुद्रा युद्ध गर्न तयार रहनुपर्ने हुन्छ।’
व्यापार युद्ध बढ्दै जाँदा चिनियाँ मुद्रा युआनको मूल्य घटाउने निर्णय चीनका लागि सजिलो उपाय थियो। हाल युआनको मूल्य घट्दा यसले चिनियाँ अर्थतन्त्रलाई खासै असर गर्ने देखिँदैन। कारण, यसअघि चिनियाँ मुद्राको मूल्य निकै बढेको थियो र बढेकै मूल्य हाराहारीमा घट्दा यसले चीनलाई खासै असर नगर्ने देखिन्छ।
हाल चिनियाँ मुद्राको मूल्य घट्नुको पछाडि अन्य कारण पनि छन्। अमेरिकाले आफ्नो ब्याजदर अपेक्षाकृत रुपमा बढाउँदा त्यसले चिनियाँ ब्याजदरलाई विकर्षण गर्छ। जसका कारण चिनियाँ मुद्राको मूल्य स्वतः कम हुन आउँछ। चिनियाँ केन्द्रीय बैंकले धेरै पैसालाई बैंकिङ प्रणालीमा ल्याउने प्रयास गरेकोले पनि चिनियाँ मुद्राको मूल्य अनपेक्षित रुपमा घट्दै गएको हो।