अखिल नेपाल फुटबल संघ (एन्फा)को बैठक २५ मंसिरमा बस्ने भएको छ । एन्फाले वार्षिक साधारण सभा सहित विभिन्न एजेण्डामा छलफल गर्न मंसिर २५ गते कार्यसमिति बैठक बोलाएको हो ।
महासचिव इन्द्रमान तुलाधरका अनुसार बैठक एन्फा हेडक्वार्टर सातदोबाटोमा बिहान ९ बजे सुरु हुनेछ । कार्यसमिति बैठकमा २३ बढी एजेण्डामाथि छलफल हुने छ ।
बैठकमा एन्फा क्लब लाइसेन्सिङ रेगुलेसन, एन्फाका विभिन्न विभागको रणनीतिक योजना, युवा बिकास परियोजन, विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न राष्ट्रिय टिमको प्रशिक्षण तथा मैत्रीपूर्ण खेलमा सहभागीता तथा आयोजनाका सम्बन्धमा छलफल हुने बताईएको छ ।
यस्तै, एन्फाले स्थगित भएका प्रतियोगिता पुन सञ्चालन गर्ने, चालू आर्थिक वर्षका निम्ति लेखा परिक्षकको नियुक्तिको लागि एन्फा साधारण सभामा सिफारिस गर्ने, एन्फा कंग्रेस बैठकका सम्बन्धमा पनि एजेण्डा तय गरेको छ ।
यस्तै, अवकास प्राप्त कर्मचारीको उपदान रकम उपलब्ध गराउने, खेलाडी दर्ता नियमावली संशोधन प्रक्रिया अघि बढाउने, विधान संशोधनको प्रस्तावना मस्यौदा, एन्फाको कृतिम घाँसे खेल मैदानमा ट्रेनिङ्ग फ्लडलाइट जडान, फुटसल र बीच फुटबल प्रतियोगिता आयोजना लगायतका एजेण्डा तय भएको छ ।
यस्तै, नेपाली राष्ट्रिय टिमको विदेशी प्रशिक्षक, अनुशासन, कोभिड–१९ रिलिफ फण्ड, प्रदेश फुटबल समिति गठन, आर्थिक सहयोग र बिबिध एजेण्डा बैठकका लागि तय गरिएको छ ।