काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दै छ । पार्टी कार्यालय धुम्बाराहिमा बस्ने बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथी छलफल हुने छ ।
बैठक अघि कसरी प्रस्तुत हुने भन्ने रणनीतिमा दुवै पक्ष भने लागेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले सचिवालय बैठकमा पेस भएका सबै डकुमेन्टहरु स्थायी कमिटीमा लैजाने तयारी गरेको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्ष भने प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गराएर सचिवालयबाटै साझा प्रस्ताव बनाउने रणनीतिमा जुटेको छ । बैठकको माग गरिएको पाँच नेताको पत्रको जवाफमा कात्तिक २५ गते प्रधानमन्त्री ओलीले प्रचण्डलाई पत्र लेखेपछि नेकपाभित्र पत्रयुद्ध सुरु भएको हो ।
कात्तिक २८ मा प्रचण्डले सचिवालय बैठकमा ओलीलाई जवाफी पत्र लेख्नुका साथै १९ पृष्ठको प्रस्ताव पेस गरे । त्यसको जवाफमा शनिबारको सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ पृष्ठको काउण्टर प्रस्ताव पेस गरे । अब यी सबै डकुमेन्टहरुलाई स्थायी कमिटीमा लैजाने प्रचण्ड– माधव नेपाल पक्षको तयारी छ ।
प्रचण्डसहित सचिवालयका पाँच नेता (प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ) ले बैठक माग गर्दै ओलीलाई बुझाएको पत्र, त्यस पत्रमा ओलीको जवाफी पत्र अनि फेरि प्रचण्डले लेखेको प्रतिउत्तर पत्रसमेत स्थायी कमिटी बैठकका छलफलका लागि लैजाने प्रचण्ड पक्षका नेताहरुको तयारी छ ।
तर, ओली पक्षले भने सचिवालयमा सहमति जुटाएर दुवै अध्यक्षको साझा प्रस्ताव स्थायी कमिटीमा लैजानुपर्ने तर्क गरिरहेको छ । यदि, स्थायी कमिटीमा साझा प्रस्ताव लैजान सकिए पनि प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गर्नुपर्ने अडान ओली समूहको छ ।
स्थायी समितिमा ओली पक्ष अल्पमतमा छ । यदि दुई अध्यक्षको साझा प्रतिवेदन वनाउन सकेन र प्रचण्डको राजनीतिक प्रतिवेदन पास ग¥यो भने प्रधानमन्त्री ओलीलाई नैतिक दववा पर्ने छ ।