काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको विद्यालय शिक्षामा चिनियाँ भाषा पढाउने तयारी भइरहेको बताउनु भएको छ ।
नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले बुधबार काठमाडाैंमा आयोजना गरेको ‘चीनमा पढेका विद्यार्थीको पाँचाैं जमघट’ कार्यक्रममा उहाँले नेपालका विद्यार्थीले चीनमा पढेर नेपाल–चीनबीचको सम्बन्धलाई थप नजीक बनाएको बताउनुभयो ।
उहाँले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएकोले उक्त नारा पूरा गर्न चीनमा पढेर स्वदेश फर्केका नेपालीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
अबको २५ वर्ष पछाडिको नेपालमा चाहिने शिक्षाअनुसारको नीति बनाउन मन्त्रालय लागिरहेको उहाँको भनाई छ ।
भूकम्पले भत्काएका विद्यालयको पुनर्निर्माणमा चीन सरकारले सहयोग पुर्याएकोमा चीन सरकारलाई धन्यवाद दिदै मन्त्री पोखरेलले ती विद्यालयहरुलाई नमुना विद्यालय बनाउने याेजना रहेकाे सुनाउनुभयो ।
नेपालका लागि चिनियाँ राजदूत यू होङले भेलाले नेपाल र चीनका विद्यार्थीबीच सम्बन्ध थप नजीक बनाएको बताउनुभयो । नेपालका उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुको चीन भ्रमणले पनि नेपाल–चीन सम्बन्ध झन् नजीक बन्दै गएको उहाँको भनाइ थियो ।
भेलामा नेपालबाट चीन गएर विभिन्न विषय अध्ययन गरेका विद्यार्थीले अा-आफ्नो पढाइको अनुभवबारे प्रस्तुति दिएका थिए । नेपालबाट हाल छ हजार चार सय भन्दा बढी विद्यार्थी चीनमा अध्ययनरत छन् ।