काठमाडौं । छठ पर्वको मुख्य दिन आज शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व बुधबारदेखि सुरु भएको हो ।
कोरोना महामारीका कारण यसवर्ष घरघरमै छठ पर्व मनाउने तयारी भइरहेको छ । सरकारले पनि घरमै छठ पर्व मनाउन अनुरोध गरेको छ । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ ।
दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ ।
षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।
छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण सुनसान प्रायः छ ।
कात्तिक शुक्ल षष्ठीको बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपतिले समेत छठ पूजा गर्नुहुने कार्यक्रम यस वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको जनाइएको छ ।
यस वर्ष कोरोना महामारीबाट बच्न प्रशासनले भीडभाड नगरि छठ पर्व मनाउन आह्वान गरेको छ ।
स्वास्थ्य सुरक्षाका विधि अपनाएर व्रत विधि पूरा गर्न पनि प्रशासनले सम्झाएको छ । यसैविच राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
साथै उहाँले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को बढ्दो संक्रमणबाट जोगिन पूर्वसावधानीका उपायको पालना गर्दै मनाउन सबैमा आह्वान गर्नुभएको छ ।