काठमाडौँ । हिमाली र उच्च पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन पनि प्रभावित भएको छ । हुम्ला, डोल्पा, मुस्ताङ, उत्तरी गोरखा र सुदुपस्चिका केही जिल्लामा हिउँ परेको छ ।
लुम्बिनी प्रदेशमा पर्ने पूर्वी रुकुमको दुले भन्ने स्थानमा पनि हिमपात भएको त्यहाँ रहेका दाङका पत्रकार कुलदीप न्यौपानेले जानकारी दिनुभयो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने जनाएको छ ।
हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हिमपात भइरहेको छ । मुस्ताङका जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो, चराङ, मराङलगायत बस्तीमा हिमपात भएको छ ।
हिमपातसँगै खोला, पँधेरा र धारामा पानी जमेको छ । उपल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीमा झरेको छ । सडकमा सवारी साधन आवतजावत गर्न समस्या भएको छ । हिउँले चरन क्षेत्र पुरिएपछि स्थानीयवासीले पशुचौपायालाई गोठमै बाँधेर राख्न थालेका छन् ।
हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्रमा सोमबार दिउँसोबाट हिउँ परेको स्थानीयले बताएका छन् । मनाङको तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म झरेको छ । मानिसहरु आवतजावत गर्न, विकास निर्माणका काम गर्न, खच्चडबाट समान दुवानी गर्न पनि समस्या भएको ।
भाइटीकाकै दिन डोल्पा जिल्लाको माथिल्लो र तल्लो भागका विभिन्न स्थानमा वर्षासँगै परेको हिमपातले जनजीवन कष्टकर बनेको छ । यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीमा पनि चिसो बढेपछि जनजीवन कष्टकर भएको छ ।
उता सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । आइतबार राति र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको हो ।
दुईपटक परेको हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको हो । हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् । हिउँ करिब आधा फिट जति परेको उद्योग वाणिज्य सङ्घका महासचिव तथा खप्तड झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताउनुभयो ।
काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान ६ दशमलव ४ डिग्री सेल्यियस मापन भएको छ ।
यो यस वर्षकै सबैभन्दा कम तापक्रम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।