काठमाडौं । आज दशैको सातौ दिन अर्थात फूलपाती । आश्विन शुक्ल सप्तमीका अवसरमा देशभरका शक्तिपीठमा फूलपाती भित्रयाइँदै छ । दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्र्याउने कार्य गरिने नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा भित्रयाउने प्रचलन छ । नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आहृवान गरेर पूजा पनि गरिन्छ ।
हनुमानढोका दरबारको दसैँ घरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिड जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ ।
तर यस पटक भने सरकारले कोरोना संक्रमणको जोखिम वढेका कारण सुरक्षा मापदण्ड पालना गर्न आग्रह गर्दै सबै मठ मन्दिरमा नियमित पुजा वाहेक भक्तजनहरुलाई सार्वजनिक रुपमा पूजा गर्न रोक लगाएको छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आ आफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।