टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ तथा सिप्रदीयन सहायता संस्थाले ट्राफिक प्रहरी, नाडा र यातायात व्यवस्था विभागको सहकार्यमा काठमाडौं उपत्यकाका विभिन्न ११ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।
चाडपर्व र अहिलेको कोरोना भाइरस सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै बल्खु, गोंगबु बसपार्क, फर्पिङ, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सुन्धारा, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष सञ्चालन गरेको हो ।
कम्पनीले सहायता कक्षमा बस्ने ट्राफिक प्रहरी र कर्मचारीलाई स्यानिटाइजर, मास्क, फेस भाइजर र डिस्इन्फेक्ट समेत दिएको छ ।दशैँमा काठमाण्डौ उपत्यका भित्रिने र बाहिरिने यात्रुका लागि यात्रामा सहज वातावरण बनाउन र उनीहरुलाई परेका समस्या छिटो समाधान गर्न सहायता कक्ष स्थापना गरिएको सिप्रदीले जनाएको छ ।
उनीहरुले ट्राफिक प्रहरीको पैसा नलाग्ने टेलिफोन नम्बर १०३ मा फोन गरेर पनि गुनासो टिपाउन सक्नेछन् । यात्रुले टिपाएका सबै गुनासो सुनेर सम्बन्धित व्यक्ति तथा कार्यालयलाई कारबाही गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताउनुभयो ।