भारतको आसाम प्रहरीमा आत्मसर्मपन गरेको भनिएका दुर्गा प्रसाईंलाई आज नेपाल ल्याउने तयारी भएको छ । प्रसाईंलाई मेची पुलसम्म भारतीय प्रहरीले ल्याउने र त्यहाँबाट नेपाल प्रहरीले काठमाडौं ल्याउने तयारी भएको जनाइएको छ ।
१५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको अधिकारीहरूले बताएका छन् ।
उत्पात मच्याएर भागेका प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए । तर, प्रसाइँ पक्राउका विषयमा प्रहरीले आधिकारीक जानकारी गराएको छ । प्रसाईंलाई भारतमा पक्राउ गरिएको विषयलाई भने प्रहरीले खण्डन गर्दै भ्रामक समाचार प्रकाशन÷प्रशारण नगरिदिनुहुन सबैमा अनुरोध गरेको छ ।
यसैबीच, राजसंस्था पुनःस्थापनाका लागि बनेको संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंको जिउज्यानको सुरक्षाको माग गरेको छ । समितिका प्रवक्ता स्वागत नेपालले एक विज्ञप्ति जारी गर्दै प्रसाईंको जीउज्यानको सुरक्षा गर्न माग गर्नुभएको हो ।
विज्ञप्तिमा प्रवक्ता नेपालले भारतीय प्रहरीसमक्ष आफ्नो ज्यानको सुरक्षासहित प्रसाईंले नेपाल प्रवेश गर्न सहयोग गरिदिन अनुरोध गरेपछि असामको गुहावटीबाट नेपालको सीमासम्म ल्याइपु¥याउने कार्यमा भारतीय प्रहरीले सहयोग गरेकोमा धन्यवाद ज्ञापन समेत गरेका छन् ।
यता, प्रसाईं फरार भएपनि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महमन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरेको छ । प्रहरीले मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।