काठमाण्डौ – आज काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको र बंगालको खाडीबाट जलवाष्पयुक्त हावासमेत भित्रिएकाले पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले झापा, सुनसरी, सिराहा, धनकुटा लागयतका जिल्लामा पानी परी रहेको र दिउँसोपछि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।
काठमाण्डौमा आज दिउँसो पनि पानी पर्ने सम्भावना छ भने आज भन्दा भोलि केही ठूलो पानी पर्ने सम्भावना छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा शुक्रवार दिउँसोसम्म रहने मौसमविद्को अनुमान् छ ।
यसैबीच काठमाण्डौमो हावा आज पनि अस्वस्थ अवस्थामा रहेको छ । हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय ५० भन्दा माथि गएमा सबैका लागि अस्वस्थ हुनेमा अहिले काठमाण्डौको एक्यूआई एक सय ९० भन्दा माथि छ । काठमाण्डौ आज पनि विश्वका प्रदूषित शहरको सूचीमा पहिलो स्थानमै छ ।
आज दिउँसोपछि पर्ने पानी र भोलि पर्ने केही ठूलो पानीले काठमाण्डौको वायु प्रदूषण उल्लेख्य रुपमा घटाउने सम्भावना रहेको मौसमविद् उज्जवल उपाध्यायले बताउनुभयो ।
