सुदूरपश्चिम प्रदेशमा यस वर्ष बर्खे धानबाली उत्पादन वृद्धि हुने आँकलन गरिएको छ । धानबालीका लागि यस वर्ष पर्याप्त वर्षा भई अनुकूल मौसम देखिएकोले धान उत्पादन वृद्धि हुने अनुमान गरिएको हो ।
यद्यपि फड्के किरा र बाढी, पहिरो, डुवानको समस्या देखिएका कतिपय क्षेत्रमा भने उत्पादनमा ह्रास आउने अनुमान छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले गत वर्ष भन्दा धान उत्पादन केही बढ्ने अनुमान गरिए पनि यसको एकिन तथ्याङ्क आउन भने बाँकी रहेको बताउनु भयो ।
यस वर्ष बाली हुर्किने समयमा प्रयोग गर्नुपर्ने रासायनिक मलको अभावको समस्या कतिपय क्षेत्रका किसानले झेल्नुपरेको थियो । तराईका कैलाली र कञ्चनपुरमा खेती गर्ने सबै किसानले र पहाडका थोरै किसानले रासायनिक मल प्रयोग गर्ने गरेका छन् ।
उन्नत बीउबिजनको प्रयोग पछिल्ला वर्षमा बढ्दै जाँदा उत्पादकत्व पनि वृद्धि हुँदै गएको जनाइएको छ । क्षेत्रीय कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धानखेती हुने गरेको छ । योमध्ये धान उत्पादनका मुख्य दुई जिल्ला कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धानखेती हुन्छ ।
पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरामा गरी झण्डै ६० हजार ४०६ हेक्टरमा धानखेती हुन्छ । प्रदेशमा बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन र उत्पादकत्व तीन दशमलब २३ मेट्रिक टन प्रति हेक्टर रहेको छ । जिल्लागत रुपमा सबै भन्दा बढी धान उत्पादन कैलालीमा तीन लाख तीन हजार ६९५ मेट्रिक टन हुने गरेको छ ।