काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्यान्डको राजधानी बैंककमा आधा घण्टा बढी एक्लाएक्लै वार्ता भएको छ ।
बैंककस्थित उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसार शुक्रबार मोदी बसेको ओरियन्टल होटलमा भएको भेटमा दुवै पक्षबाट कोही पनि अरु अधिकारी सहभागी भएनन् ।
भेट सकेपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बैंककमा आफ्ना मित्र भारतीय प्रधानमन्त्री मोदीसँग सौहार्द संवाद भएको उल्लेख गरेका छन् । ओलीले लेखेका छन्, ‘मित्र भारतीय प्रधानमन्त्री मोदीजीसँग न्यानो संवाद भयो । दुईपक्षीय छलफल रचनात्मक र अर्थपूर्ण भएको छ । यो आपसी विश्वासका लागि मेरो धन्यवाद ।’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले दुईपक्षीय संवाद र विश्वास बढाउनका लागि थुप्रै विषयमा कुराकानी भएको जानकारी दिएका छन् ।
भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले समकक्षी ओलीसँगको भेटवार्ता फलदायी रहेको प्रतिक्रिया दिएका छन् । आफ्नो सामाजिक सञ्जालमा मोदीले नेपाली भाषा प्रयोग गरेर लेख्दै उक्त टिप्पणी गरेका हुन् ।
‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो,’ मोदीले भनेका छन् । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको भन्दै उनले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल भएको जानकारी गराएका छन् ।
सेप्टेम्बरमा न्युयोर्कमा भेटेका दुई प्रधानमन्त्रीले बिमस्टेक अवसर पारेर साइडलाइनमा बस्दा दुईपक्षीय हितका थुप्रै विषयमा कुरा भएको छ । भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गरेका छन् ।