नेपाली रक संगीतकी चर्चित गायिका अभया सुब्बाले १४ डिसेम्बर, २०२४ मा आफ्नो आधिकारिक फेसबुकमार्फत संगीतबाट ब्रेक लिने घोषणा गरेकी थिइन्। उनले स्टाटसमा लेखेकी थिइन्, "मैले संगीतबाट ब्रेक लिइरहेकी छु। कहिलेकाहीं संकल्प पनि आफैंलाई भारी पर्न सक्छ भनेर महसुस गरें। यस बीचमा म केवल यात्रा गर्नेछु र अन्य जुनून फेला पार्नेछु, जुन मैले संगीतको कारण छुटाएको हुनसक्छु।"
उनको यो घोषणाले संगीतप्रेमी र फ्यानहरूलाई आश्चर्यचकित मात्र होइन, केही हदसम्म दुःखीसमेत बनायो। लगातार उनले पोखरा र आसपासका ठाउँहरूमा घुमघाम गरेका तस्बिरहरू सार्वजनिक गर्दै जीवन र जगतबारे गहन स्टाटस लेख्न थालेपछि उनका फ्यानले अब अभयालाई संगीतमा नदेखिने हो कि भन्ने आशंका गर्न थालेका थिए।
तर यसबीचमा ‘अभया एण्ड स्टिम इन्जिन्स’ ब्याण्डले आफ्नो नयाँ गीत ‘सँधैभरि’ सार्वजनिक गर्दै फ्यानलाई पुनः उत्साहित बनाएको छ। यो गीत युट्युब, स्पोटिफाई र एप्पल म्युजिकमा एकसाथ रिलिज गरिएको छ। गीतको सार्वजनिकतासँगै फ्यानहरूले ब्याण्डको पुनरागमनलाई खुसीले स्वागत गरेका छन्।
गीतमा ब्याण्डको पहिलेदेखिको विशिष्ट शैलीलाई निरन्तरता दिइएको छ। कार्म र नीति शाहजस्ता चर्चित कलाकारहरूको विशेष फिचर रहेको यो गीतको छायांकन काठमाडौंभित्रका आकर्षक लोकेसनहरूमा गरिएको छ। अडियो मर्मस्पर्शी र आत्मपरक छ भने गीतको कोरियोग्राफी पनि त्यत्तिकै आकर्षक र सशक्त छ।
गीतको कम्पोज स्वयं अभया सुब्बाले गरेकी छिन्। गिटारमा राजिव रिन्चेन पाल्जार, बासमा यज्ञ लामा, किजमा सन्देश डीसी, सेक्सोफोनमा जेम्स सिंह र सारंगीमा धर्म गन्धर्वले आफ्नो उत्कृष्ट प्रस्तुति दिएका छन्।
अभयाले संगीतबाट अस्थायी ब्रेक लिएको भए पनि नयाँ गीतको सफलताले फ्यानहरूलाई थप उत्साह दिएको छ। संगीतप्रति उनको अटूट योगदान र नयाँ प्रयोगप्रतिको लगाव अझै जीवित रहेको यो गीतले स्पष्ट पार्छ।
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१ १४:५६