नेपालको प्रतिष्ठित मोडलिङ प्रतियोगिता ‘मोडल हन्ट नेपाल सिजन ९’ को ग्रान्ड फिनाले सम्पन्न भएको छ, जसमा विवश विष्ट र नेहा बुढा शीर्ष विजेता बनेका छन्। विवशले पुरुष तर्फको उपाधि जित्दा नेहाले महिला तर्फको ताज पहिरिन सफल भइन्। उनीहरूले क्याम्बोडियामा आयोजना हुने ‘मिष्टर एण्ड मिस सेलिब्रेटी इन्टरनेसनल २०२४’ मा नेपालको प्रतिनिधित्व गर्नेछन्।
दरबारमार्गस्थित होटल याक एण्ड यतिमा भव्य रूपमा आयोजित यस प्रतियोगितामा ३३ जना महिला र १७ जना पुरुष प्रतिस्पर्धीले दमदार प्रस्तुति दिएका थिए। प्रतियोगितामा आदित्य थपलिया र मोना के.सी. फस्ट रनरअप बने भने एलेन डंगोल र चाँदनी श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए।
पुरुष तर्फ मनिश गौतम र प्रसुन कुमार तथा महिला तर्फ पूजा सिंह राजपूत र रानी खड्का टप फाइभमा स्थान बनाउन सफल भए।
ग्रान्ड फिनालेमा विभिन्न विशेष अवार्डहरू पनि प्रदान गरिए। मोस्ट स्टाइलिस अवार्ड मनिश गौतम र जेनिता सेन्चुरीले जिते भने केएफसी वेष्ट पर्सनालिटीको उपाधि सुजल श्रेष्ठ र डा. अनिमा भण्डारीले हात पारे। रियलमी वेष्ट वाक अवार्ड छेवाङ शेर्पा र पूजा सिंह राजपूतलाई प्रदान गरियो। द वीच हाउस पब्लिक च्वाइस अवार्ड आदित्य कौशल र सारु कार्की (डोली परियार) ले जिते। त्यस्तै, आर्टेसियम प्रोडक्सन मोस्ट फोटोजेनिकको अवार्ड प्रसुन कुमार र अनुजा पौडेलले प्राप्त गरे। रिगाल फिटनेस मोडलको उपाधि आयन चौधरीले जिते भने वेष्ट फिगरको सम्मान नेहा बुढाले पाउन सफल भइन्। क्यान्टाविल टप मोडलको ताज विवश विष्ट र चाँदनी श्रेष्ठले पहिरिए। खल्ती मोष्ट पपुलर अवार्ड कृतिका खड्का र खेमराज पोखरेललाई प्रदान गरियो।
प्रतिस्पर्धीहरूले चर्चित डिजाइनर स्मृति लम्साल, सिला र कासाका पहिरनमा सजिएर दमदार प्रस्तुति दिए। पुरुष मोडलहरूले ब्ल्याकबेरिज् र क्यान्टाविल जस्ता अन्तर्राष्ट्रिय ब्रान्डको पहिरन प्रदर्शन गरेका थिए। अधिकांश सहभागीहरूको यो पहिलो रनवे अनुभव भए पनि उनीहरूको प्रस्तुति अनुभवी मोडलहरू भन्दा कम थिएन।
अन्तिम चरणमा उत्कृष्ट पाँच प्रतिस्पर्धी छनोट गरेर विजेताहरूको घोषणा गरिएको थियो।
नेक्स्ट मोडल्स नेपालद्वारा आयोजित प्रतियोगिताको निर्देशन रवि धमला र यतना पाण्डेले गरेका थिए भने सुपरमोडल सविता कार्कीले कोरियोग्राफी गरेकी थिइन्। निर्णायक मण्डलमा पूर्व मिस नेपाल माल्भिका सुब्बा र नम्रता श्रेष्ठ, मिष्टर नेपाल २०२५ का विजेता सन्तोष लोक्सम लिम्बु, जोय कस्मेटिक्स नेपाल प्रमुख मदन रौनियार, फेसन कोरियोग्राफर मनिश राई तथा सुपरमोडल एवं फेसन कोरियोग्राफर आस्था पोखरेल रहेका थिए।
करीब तीन घण्टासम्म चलेको यो भव्य प्रतियोगिता नेपालका फेसन, मोडलिङ तथा ग्ल्यामर क्षेत्रमा नयाँ प्रतिभाहरू स्थापित गर्ने महत्वपूर्ण मञ्च बनेको छ।
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१ १४:५०