गायिका शान्तिश्री परियारको करिअरमा यसपटक विशेष उपलब्धि हासिल भएको छ।
एकातर्फ, उनले स्वर दिएको फिल्मको गीत 'रूकुम मैकोट' नेपाली संगीत क्षेत्रमा नयाँ कीर्तिमान राख्दै सबभन्दा छोटो समयमा १० करोड पटक हेरिने गीत बनेको छ।
फिल्म 'खुश्मा' मा समावेश एसडी योगी र शान्तिश्रीको स्वर रहेको 'रूकुम मैकोट' ले पाँच महिनामै १० करोड भ्युज पाउने पहिलो नेपाली गीतको कीर्तिमान स्थापित गरेको हो।
अर्कोतर्फ, शान्तिश्रीको अफिसियल गीत 'अरेली काँडैले' लोक संगीतबाट १० करोड भ्युज पार गर्ने पहिलो गीत बन्न सफल भएको छ। नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत र शान्तिश्रीको एकल स्वर रहेको यो गीत डेढ वर्षअघि मात्र सार्वजनिक भएको थियो।
'रूकुम मैकोट' र 'अरेली काँडैले' युट्युबमा एकै दिनको फरकमा १० करोड भ्युज पाउन सफल भएका छन्। आफूद्वारा स्वरबद्ध दुई गीत १० करोड क्लबमा पुगेपछि शान्तिश्रीले आफ्नो खुसी सामाजिक सञ्जालमार्फत साटेकी छन्।
उनले फेसबुकमा लेखेकी छन्, "यो मेरो लागि निक्कै खुसीको कुरा हो। आदरणीय दर्शकको माया पाएका कैयौं गीतमा मेरो स्वर मिसिएका छन्। यो अर्थमा म अलि भाग्यमानी नै हुँ जस्तो लाग्छ। कर्म र भाग्यको संयोग कहिँ न कहिँ राम्रै मिलेको जस्तो लाग्छ।" उनले गीत सफल बनाउन योगदान दिने सबैलाई धन्यवाद पनि दिएकी छन्।
मेला-महोत्सव र रेकर्डिङ दुवैमा व्यस्त शान्तिश्रीको स्वर रहेको फिल्म 'लाज शरणम्' को गीत 'हेर्दा हेर्दैमा' ले पनि अहिले दर्शकको माया पाइरहेको छ।
संगीत यात्रा र करिअरमा महत्वपूर्ण उपलब्धि हासिल गरेकी शान्तिश्रीले हालै काठमाडौंमा नयाँ घर समेत खरिद गरेकी छन्। यो उपलब्धि उनको करिअरको उचाइ र निरन्तरताको प्रतीक हो।
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१ १८:४५