काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ। हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ।
यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ। यो अधिवेशनमा झण्डै ३० विधेयक संसद्मा लैजाने तयारी सरकारको छ। यसअघि नै दर्ता भएका २३ विधेयक संसद्मा विचाराधीन छन् ।
हालै सरकारले जारी गरेका ६ वटा अध्यादेश पनि संसद् बैठकको पहिलो दिनमै दर्ता हुँदैछन् । संसदमा सङ्घीयता कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती, विद्यालय शिक्षा, प्रहरी समायोजनजस्ता महत्त्वपूर्ण विधेयक लामो समयदेखि विचाराधीन छन् ।
ती विधेयकमाथि सम्बन्धित संसदीय समितिहरूमा छलफल भइरहेको संसद सचिवालयले जनाएको छ । सङ्घीय संसद् सचिवालयले दुवै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने कार्यसूची छ ।
यस्तै, अधिवशेन शुरू भएको दिन यसअघि जस्तै दलीय आधारमा सदस्यले आ–आफ्नो मन्तव्य राख्नुहुने कार्यसूची रहेको छ।
यता विपक्षी दलहरुले भने सरकारले ल्याएको अध्यादेश अस्वीकार तयारी गरेका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बिहीबार बसेको विपक्षी दलहरुको बैठकले अध्यादेश स्वीकार नगर्ने निर्णय गरेको हो ।