चलचित्र ‘लाज शरणम्’को टिजर आज युट्युबमार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा चलचित्रका अधिकांश मुख्य पात्रहरूको झलक देख्न सकिन्छ।
टिजरको सुरुवातमा वैदेशिक रोजगारीका लागि घर छोड्न लागेको छोराको सुरक्षा र सफलताका लागि बुवाले गरेको कामना प्रस्तुत गरिएको छ। तर, विदेश पुगेको छोरो कफिनमा फर्किएपछि परिवारमा सिर्जना भएको तनाव टिजरमा देखाइन्छ। यद्यपि, त्यसपछि केही रोचक ट्वीस्ट पनि देखिन्छ, जसले कथालाई रहस्यमय बनाएको छ। नदीमा डुबेको व्यक्तिको उद्धार र द्वन्द्वले थप कौतूहल उत्पन्न गरेको छ।
गरिबी र बेरोजगारीका कारण नागरिकले भोग्नुपरेका चुनौतीलाई यो चलचित्रले प्रस्तुत गर्ने संकेत टिजरले गरेको छ। सुन्दर लोकेसन, आकर्षक क्यामेरा वर्क, र लङ सटले टिजरको भिजुअल प्रभावलाई बलियो बनाएको छ।
‘लाज शरणम्’ मा सिताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणू योगी, कमलमणि नेपाल, माला लिम्बू तथा ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज) र प्रियाना आचार्य (मुन्नी) को अभिनय रहेको छ।
कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरेको यो चलचित्र फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शनमा आउनेछ। जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको यो सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा छन्। सिनेमाको छायांकन सुदीप बरालले गरेका छन्।
‘लाज शरणम्’को टिजरले संवेदनशील कथा र उत्कृष्ट दृश्यांकनको संकेत गर्दै दर्शकमा उच्च प्रतिक्षा पैदा गरेको छ।