प्राइम टेलिभिजनबाट प्रसारण भइरहेको लोकप्रिय कमेडी शो ‘कमेडी दरबार’ का जज विजय बरालले शो छोड्ने निर्णय गरेका छन्। उनले नयाँ चलचित्रहरूको चापका कारण समय व्यवस्थापन गर्न कठिन भएकाले शो छोड्न लागेको बताएका छन्।
विजयले ‘कमेडी दरबार’सँग २६ भागसम्मको सम्झौता गरेका थिए। हालसम्म शोका २२ भाग प्रसारण भइसकेका छन् भने बुधबार उनले थप तीन भागको छायांकन पूरा गरेका छन्। सम्झौताअनुसार २६ भागको छायांकन पूरा भएपछि उनी शोबाट बाहिरिने छन्।
चलचित्रको व्यस्त शेड्यूललाई मुख्य कारण बताउँदै विजयले अब पूरा समय सिनेमामा केन्द्रित हुने निर्णय गरेका हुन्। निर्देशक सुरेन्द्र पौडेलको नयाँ चलचित्र ‘वरिष्ठ बलराम’ मा विजय मुख्य भूमिकामा देखिनेछन्। यो चलचित्रमा दयाहाङ राई पनि प्रमुख भूमिकामा छन्।
त्यस्तै, विजयले हिमाल न्यौपानेको निर्देशनमा बन्न लागेको चलचित्र ‘जनै हराएको बाहुन’ मा पनि मुख्य भूमिका निभाउने भएका छन्। यो सिनेमाका एसोसिएट निर्देशक ‘प्रेम गीत ३’ का अभिनेता मनिष राउत हुन्।
यी दुई चलचित्रको छायांकन सकिएपछि विजयले ‘जारी-२’ र ‘कबड्डी ५’ का लागि समय दिनेछन्। चलचित्रहरूको लामो लाइनअपकै कारण ‘कमेडी दरबार’ मा समय दिन नसक्ने भएकाले शो छोड्ने निर्णयमा पुगेको उनले बताएका छन्।
आर्टखबरसँगको कुराकानीमा विजयले भने, “फिल्ममा संलग्न हुनुपर्ने छ, ‘कमेडी दरबार’ सँगको सम्झौता पनि सकियो, अब पूरा समय सिनेमामै केन्द्रित हुनुपर्छ। कुनै फिल्मको छायांकन सकिएर केही दिनको समय खाली भए पनि आफ्नो तयारी पूरा गर्न समय अभाव हुने देखिन्छ, त्यसैले शोमा फर्कने सम्भावना देख्दिन।”
उनको यो निर्णयले शोको टिममा असर पर्ने अनुमान गरिएको छ। शोका निर्देशक विक्की अग्रवालले उनलाई फकाउने प्रयास गरिरहेका छन्। अब ‘कमेडी दरबार’ टिमले उनको स्थान पूर्ति गर्न नयाँ विकल्प खोज्ने वा अन्य व्यवस्थापन गर्नेबारे आधिकारिक जानकारी आउन बाँकी छ।