फिल्म ‘केटी हराएको सूचना’ को विशेष स्क्रिनिङ जमलस्थित विश्वज्योति सिनेप्लेक्समा मंगलबार सम्पन्न भएको छ। शो बुक गरेर महिला उद्यमी संघका दुई सय सदस्यहरूले फिल्म हेरेका थिए।
फिल्म हेरेपछि महिला उद्यमीहरूले कथावस्तुसँगै कलाकारको उत्कृष्ट अभिनय र लोकेसन मन परेको प्रतिक्रिया दिए। उनीहरूले मधेशका महिलाहरूको जीवन, संघर्ष र कथालाई फिल्मले रोचक ढंगले चित्रण गरेको जनाएका छन्।
स्क्रिनिङको क्रममा निर्देशक दीपेन्द्र गौचन र अभिनेत्री सृष्टि श्रेष्ठको उपस्थिति रहेको थियो। महिला उद्यमीहरूले गुलाबको फूल दिँदै यी दुईलाई सम्मान प्रकट गरे।
ट्राई सिटी पिक्चर्सको निर्माणमा बनेको यो फिल्मले पहाड र मधेशबीच मेलमिलापको खोजी गर्ने कथा प्रस्तुत गर्छ। फिल्मको पटकथा लेखन र निर्देशन दीपेन्द्र गौचनले गरेका हुन्।
फिल्ममा सृष्टि श्रेष्ठ र नाजिर हुसेन शीर्ष भूमिकामा छन्। साथै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रीना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय रहेको छ।
फिल्मका कार्यकारी निर्माता नकिम उद्दिन हुन् भने सहकार्यकारी निर्माताको रुपमा मनोहरदास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन र सञ्जय भट्टचन छन्। अमितेष शाह सहायक निर्माताको रुपमा छन्।
२ दशकपछि निर्देशक दीपेन्द्र गौचनको निर्देशनमा पुनरागमन गराएको यो फिल्म ‘मिनिमालिस्ट’ शैलीको कथावाचनमा आधारित छ। फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले फिल्मको वितरण गरेका छन्।